कांग्रेसको निष्कर्ष : संसद् विघटन असंवैधानिक, जेन-जीका माग सम्बोधन गर्न प्रतिबद्ध

काठमाडौं : नेपाली कांग्रेसले हालै भएको संसद् विघटनलाई ‘असंवैधानिक’ ठहर गर्दै जेन-जी पुस्ताले उठाएका जायज मागहरू सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको निर्णय गरेको छ।
उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकले संसद् विघटन संविधानको मर्म र सर्वोच्च अदालतको व्याख्याविपरीत भएको भन्दै यसले लोकतान्त्रिक उपलब्धिहरूलाई धरापमा पारेको ठहर गरेको छ।
कांग्रेसले वर्तमान राजनीतिक जटिलताको समाधान यही संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिँदै यसका लागि अन्य राजनीतिक दल र नागरिक समाजसँग परामर्श गरेर नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ ।
कांग्रेसले जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवामाथिको आक्रमण, संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका निवासमाथिको तोडफोड तथा आगजनीलाई ‘बर्बरतापूर्ण’ भनिएको छ।
त्यस्तै, राष्ट्रपति भवन, सिंहदरबारलगायत राज्यका महत्त्वपूर्ण अंगहरूमा भएको आक्रमण र खर्बौँको सार्वजनिक तथा निजी सम्पत्ति क्षतिप्रति भर्त्सना गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन ‘उच्चस्तरीय न्यायिक छानबिन आयोग’ गठन गर्न सरकारसँग माग गरेको छ।
बैठकले आन्दोलनका क्रममा जीवन गुमाएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचारको प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरिएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बदलिएको परिस्थितिमा पार्टीलाई थप सुदृढ बनाउँदै संयम र एकताका साथ अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरिएको छ।
असोज ३, २०८२ शुक्रबार २१:३३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।