रुसद्वारा युक्रेनमाथि ड्रोन हमला, राजधानी कीभमा रातभर विस्फोट

रुसद्वारा युक्रेनमाथि ड्रोन हमला, राजधानी कीभमा रातभर विस्फोट

एजेन्सी : युक्रेनको राजधानी कीभमा रातभर विस्फोट भएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, रूसी ड्रोनहरू खसाल्दा ती विस्फोट भएका हुन्।

समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको एक तस्बिरमा सहरको पश्चिमी भागमा रहेको शुलियाभस्का मेट्रो स्टेसन र ‘प्रेस अफ युक्रेन’ प्रिन्टवर्कनजिकै विस्फोट भएको देख्न सकिन्छ।

कीभस्थित बीबीसी संवाददाताहरूले पनि उक्त आक्रमण प्रत्यक्ष देखेको बताएका छन्। उनीहरूका अनुसार, आकाशबाट कम्तीमा दुईवटा ड्रोन खसिरहेको देखिएको थियो।

यसैबीच, युक्रेनी वायुसेनाले रुसले रातभरमा ८६ वटा ड्रोनबाट आक्रमण गरेको जनाएको छ। तीमध्ये ५० भन्दा बढी इरानी-निर्मित 'शहिद' ड्रोन रहेको र ७१ वटालाई खसालिएको वायुसेनाको दाबी छ।

युक्रेनभरिका छ वटा क्षेत्रमा १५ पटक आक्रमण भएको जनाइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डिनिप्रो क्षेत्रमा भएको आक्रमणमा दुई जना घाइते भएको बताएका छन्।

असोज ३, २०८२ शुक्रबार २०:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।