ओस्कार छनोटमा विवाद : ‘अञ्जिला’को मिडिया को-अर्डिनेटर पराजुली नै जुरी भएपछि निर्णयमा आपत्ति, ल्यापटपमा हेरेर निर्णय गरिएको आरोप

ओस्कार छनोटमा विवाद : ‘अञ्जिला’को मिडिया को-अर्डिनेटर पराजुली नै जुरी भएपछि निर्णयमा आपत्ति, ल्यापटपमा हेरेर निर्णय गरिएको आरोप

काठमाडौं : अमेरिकामा हुने प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपालबाट चलचित्र छनोट गर्ने प्रक्रिया गम्भीर विवादमा तानिएको छ।

‘अञ्जिला’ र ‘गुन्यु चोलो’ नामका दुई चलचित्र प्रतिस्पर्धामा थिए, जसमध्ये समितिले ‘अञ्जिला’लाई छनोट गरेपछि ‘गुन्यु चोलो’को निर्माण टोलीले छनोट प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको हो।

‘गुन्यु चोलो’ टोलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि अन्याय भएको र छनोट प्रक्रिया नै त्रुटिपूर्ण रहेको आरोप लगायो। उनीहरूका अनुसार, चलचित्रलाई सही तरिकाले हलमा नहेरी ल्यापटपमा हेरिएको थियो भने छनोट समितिमा रहेका सदस्यको स्वार्थ पनि बाझिएको थियो।

‘गुन्यु चोलो’ पक्षको सबैभन्दा ठूलो आरोप छनोट समितिमा रहेका निर्णायक (जुरी) जीवन पराजुलीमाथि छ। उनी ओस्कारका लागि छानिएको फिल्म ‘अञ्जिला’का सञ्चार संयोजक (मिडिया को-अर्डिनेटर) पनि हुन्।

आफ्नो संलग्नता भएको फिल्म छनोट गर्ने निर्णायक मण्डलमा बस्नु सरासर गलत भएको ‘गुन्यु चोलो’की निर्देशक समुन्द्र भट्टको भनाइ छ।

उनले प्रश्न गरिन्, ‘अञ्जिला फिल्मका मिडिया को-अर्डिनेटर नै निर्णायक समितिमा कसरी पर्नुभयो? अनि उहाँले आफ्नै फिल्मलाई कसरी छनोट गर्न मिल्छ? यो सरासर गलत हो।’

ओस्कारजस्तो ठूलो अवार्डका लागि पठाइने फिल्मलाई त्यसको वास्तविक गुणस्तर जाँच्न ठूलो पर्दा र राम्रो साउन्ड सिस्टम भएको हलमा हेर्नुपर्नेमा त्यसो नगरिएको उनीहरूको गुनासो छ। निर्देशकका अनुसार, चलचित्र विकास बोर्डको हल बिग्रिएको भन्दै उनको फिल्म ल्यापटपमा हेरिएको थियो।

‘ओस्कारका लागि विशेष साउन्ड र कलर मिलाएर बनाएको फिल्म ल्यापटपमा हेर्दा त्यसको वास्तविक गुणस्तर कसरी थाहा हुन्छ?’ उनले भनिन्, ‘हामीले प्रोजेक्टरमा फिल्मको रङ नै फरक देखिएको छ भन्दा निर्णायकहरूले ‘हामी बुझिहाल्छौँ, तपाईं ढुक्क हुनुहोस्’ भन्नुभयो। यो सरासर अन्याय हो।’

समितिका अर्का एक सदस्य चिरञ्जीवी गुरुङ अमेरिकामा बस्छन्। उनले फिल्म नै नहेरी भोट गरेको ‘गुन्यु चोलो’ पक्षको दाबी छ।

निर्देशकले भट्टले भनिन्, ‘उहाँले न मलाई फोन गर्नुभयो, न फिल्म माग्नुभयो, तर उहाँको भोट गणना भइसकेको छ। यो कसरी सम्भव भयो?’

नाजिरको पनि गुनासो
अभिनेता नाजिर हुसेनले पनि छनोट प्रक्रिया पारदर्शी नभएको बताएका छन्।

उनले भने, ‘फिल्मको संयोजक आफैँ निर्णायक बन्नु र विदेशमा बसेकाले फिल्म नहेरी निर्णय दिनु जायज होइन। यस्ता प्रश्नको जवाफ आउनुपर्छ।’

यसैबीच, अर्का निर्देशक दीपक रौनियारले त ओस्कारका लागि आवेदन खुलेको आफूले थाहै नपाएको बताएका छन्।

उनले फेसबुकमा लेख्दै ‘अञ्जिला’ गुपचुप रूपमा छनोट भएको आरोप लगाएका छन्। आवेदनका लागि जम्मा नौ दिनको छोटो समय दिइएको र त्यसको सूचना पनि सार्वजनिक नगरिएको उनको गुनासो छ।

उनले लेखेका छन्, ‘यति छोटो र गोप्य सूचनाले यस्तो लाग्छ कि उहाँहरू अरूलाई आवेदन नै दिन दिन चाहनुहुन्नथ्यो।’

विवादबारे ओस्कार छनोट समितिका अध्यक्ष विमल पौडेलले एक विज्ञप्ति जारी गर्दै ‘अञ्जिला’लाई गहन मूल्यांकन गरेरै छानिएको दाबी गरेका छन्। चलचित्रको प्राविधिक पक्ष, कथा, कलाकारको अभिनय र कलात्मकतालाई आधार मानेर निर्णय लिइएको उनको भनाइ छ।

समितिमा पौडेलसहित मञ्जु कुमार श्रेष्ठ, लोकेन्द्र पराजुली, गौतम धिमाल र जीवन पराजुली निर्णायक थिए। यद्यपि, एक निर्णायकले चिरञ्जीवी गुरुङ समितिमा नरहेको जानकारी दिएका छन्।

असोज ३, २०८२ शुक्रबार २०:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।