आठ महिनापछि रिहा भए तालिबानको कब्जामा रहेका बेलायती दम्पती

आठ महिनापछि रिहा भए तालिबानको कब्जामा रहेका बेलायती दम्पती

एजेन्सी : अफगानिस्तानमा करिब आठ महिनासम्म तालिबानको हिरासतमा रहेका एक बेलायती दम्पती रिहा भएका छन्। कतारको मध्यस्थतामा ८० वर्षीय पिटर रेनोल्ड्स र उनकी ७६ वर्षीया पत्नी बार्बीलाई रिहा गरिएको हो।

कतारका अधिकारीहरूका अनुसार, रिहा भएपछि दम्पतीलाई पहिले कतार लगिनेछ, जहाँ उनीहरूको स्वास्थ्य परीक्षण गरिनेछ। त्यसपछि उनीहरूलाई बेलायत पठाइनेछ। यद्यपि, उनीहरूको स्थायी घर अफगानिस्तानको बामियान प्रान्तमा छ।

तालिबानले ती दम्पतीले अफगान कानुन तोडेको र अदालती प्रक्रिया पूरा भएपछि रिहा गरिएको बताएको छ। यद्यपि, उनीहरूलाई पक्राउ गर्नुको वास्तविक कारण भने कहिल्यै खुलाइएको छैन।

को हुन् रेनोल्ड्स दम्पती?
पिटर र बार्बीले सन् १९७० मा काबुलमा विवाह गरेका थिए र उनीहरूको अफगानिस्तानसँग गहिरो सम्बन्ध थियो। पछिल्लो १८ वर्षदेखि उनीहरूले त्यहाँ एक च्यारिटेबल ट्रेनिङ कार्यक्रम सञ्चालन गर्दै आएका थिए, जसलाई सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि पनि स्थानीय अधिकारीहरूले स्वीकृति दिएका थिए।

अफगानिस्तानप्रतिको यही लगावकै कारण सन् २०२१ मा तालिबानले सत्ता कब्जा गर्दा अधिकांश पश्चिमा नागरिकले देश छाडे पनि उनीहरूले त्यहीँ बस्ने निर्णय गरेका थिए।

कैदको समयमा दम्पतीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको थियो। उनीहरूका छोरा जोनाथन रेनोल्ड्सले बीबीसीलाई बताएअनुसार, उनका बुवालाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो भने आमा रक्तअल्पता र कुपोषणका कारण अत्यन्तै कमजोर बनेकी थिइन्।

‘मेरा बुवालाई हत्यारा र अपराधीहरूसँगै साङ्लोमा बाँधिएको थियो,’ जोनाथनले भनेका थिए, ‘एक पटक त उनीहरूलाई छ हप्तासम्म घाम नछिर्ने बेसमेन्टमा राखियो।’

उनीहरूको नाजुक स्वास्थ्य अवस्थाबारे संयुक्त राष्ट्रसंघले समेत चासो व्यक्त गर्दै उपचार नपाए गम्भीर क्षति हुन सक्ने चेतावनी दिएको थियो।

असोज ३, २०८२ शुक्रबार १९:११:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।