दशैंका लागि मुस्ताङबाट १३ हजार भेडाच्याङ्ग्रा निकासी, एउटै च्याङ्ग्राको मूल्य खोरमै ३५ हजार

मुस्ताङ : दशैंलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङ हुँदै १३ हजार ५ सयभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरी जिल्ला पठाइएको छ।
गत वर्षको तुलनामा निकासी संख्या बढे पनि देशको पछिल्लो परिस्थितिका कारण बिक्री नहुने हो कि भन्ने चिन्ता व्यापारीहरूले व्यक्त गरेका छन्।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, मुस्ताङका अनुसार यस वर्ष मुस्ताङ र कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट गरी कुल १३ हजार ५७५ भेडाच्याङ्ग्रा निकासी भएका हुन्।
जसमध्ये ६ हजार ६०० मुस्ताङका किसानका हुन् भने बाँकी कर्णालीबाट ल्याइएका हुन् । यो संख्या गत वर्षको भन्दा करिब २० प्रतिशतले बढी हो।
यस वर्ष च्याङ्ग्राको मूल्य खोरमै बढेको छ। व्यापारीहरूका अनुसार एउटा राम्रो (रोज्जा) च्याङ्ग्राको मूल्य खोरमै ३५ हजार रुपैयाँसम्म परेको छ भने माउ (च्यालु) को मूल्य १३ हजार रुपैयाँसम्म छ।
पोखराका लागि २३५ वटा च्याङ्ग्रा खरिद गरेका व्यापारी पूर्णबहादुर रानाभाटले भने, ‘खोरमै मूल्य बढेको छ। पोखरा पुर्याउँदा रोज्जा च्याङ्ग्राको ४२ हजार र च्यालुको १८ हजारसम्ममा बिक्री गर्नुपर्छ।’
गत वर्ष राम्रो नाफा भए पनि यस वर्ष देशको असहज परिस्थितिले गर्दा लगानी डुब्ने हो कि भन्ने चिन्ता लागेको उनले बताए।
जिल्लाबाट बाहिरिने सबै भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। मानव स्वास्थ्य र रोगव्याधी फैलिन नदिन पशु चिकित्सकको टोलीले खोरमै पुगेर परीक्षण गरी ७२ घण्टे स्वास्थ्य प्रमाणपत्र दिने गरेको छ।
मुस्ताङमा यस वर्ष करिब १०० भन्दा बढी व्यापारी च्याङ्ग्रा खरिदका लागि आएका छन्। यहाँबाट खरिद गरिएका च्याङ्ग्रहरू पैदलै म्याग्दी, पर्वत, बाग्लुङ हुँदै पोखरा, काठमाडौं लगायतका प्रमुख शहरमा पुर्याइन्छ।
असोज ३, २०८२ शुक्रबार १८:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।