‘अन्जिला’ को ओस्कर सिफारिसमा ‘गुन्यु चोलो’ टिमको आपत्ति, पत्रकार र निर्देशकबीच चर्काचर्की

‘अन्जिला’ को ओस्कर सिफारिसमा ‘गुन्यु चोलो’ टिमको आपत्ति, पत्रकार र निर्देशकबीच चर्काचर्की

काठमाडौं : नेपालको तर्फबाट ९८औं ओस्कर अवार्डका लागि चलचित्र ‘अन्जिला’ सिफारिस भएपछि विवाद चुलिएको छ।

छनोट प्रक्रिया अपारदर्शी, त्रुटिपूर्ण र स्वार्थले प्रेरित भएको भन्दै प्रतिस्पर्धी चलचित्र ‘गुन्यु चोलो’ को टिमले छनोट समिति नै खारेज गर्न माग गरेको छ। निर्णय नसच्याइए ओस्कर अवार्ड आयोजक एकेडेमीलाई नै आधिकारिक रूपमा उजुरी दिने उनीहरूले चेतावनी दिएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘गुन्यु चोलो’ की निर्देशक समुन्द्र भट्टले छनोट समितिको नियत र गठन प्रक्रियामाथि गम्भीर प्रश्न उठाइन्।

समितिमा रहेका पत्रकार जीवन पराजुली सिफारिसमा परेको चलचित्र ‘अन्जिला’ कै मिडिया संयोजक रहेको र अर्का सदस्य चिरञ्जीवी गुरागाईं अमेरिकामा बसेर चलचित्र नै नहेरी मूल्यांकन प्रक्रियामा सामेल भएको भन्दै उनले सम्पूर्ण प्रक्रिया खारेजीको माग गरिन्।

‘मैले ‘गुन्यु चोलो’ ओस्करकै लागि बनाएकी हुँ,’ निर्देशक भट्टले आक्रोशित हुँदै भनिन्, ‘निर्णायक समितिमा रहेका एक सदस्य आफैँ फिल्मको मिडिया संयोजक छन्, अर्का सदस्य अमेरिकामा बसेर फिल्म नै नहेरी मूल्यांकन गर्न मिल्छ?’

उनले ‘अन्जिला’ उत्कृष्ट भए पनि आफ्नो चलचित्र ‘गुन्यु चोलो’ अन्तर्राष्ट्रिय मञ्चका लागि अझ मौलिक, सबल र प्रभावकारी रहेको दाबी गरिन्।

यस्तो अभ्यासले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुर्याउने भन्दै उनले समिति खारेजी र निष्पक्ष पुनर्विचारका लागि चलचित्र विकास बोर्डमा पत्र पठाइसकेको जानकारी दिइन्।

‘यदि बोर्डले यो विषयलाई गम्भीरतापूर्वक लिएन भने म ओस्कर एकेडेमीलाई नै आधिकारिक इमेलमार्फत जानकारी गराउनेछु’, उनले चेतावनी दिइन्।

कार्यक्रममा अभिनेता तथा सह-लेखक नाजिर हुसेनले आफ्नो चलचित्र छनोट नभएकोमा भन्दा पनि शक्तिको दुरुपयोग र छनोटको नियतमाथि प्रश्न उठाएको बताए।

‘हाम्रो प्रश्न शक्तिको दुरुपयोगमाथि हो,’ उनले भने, ‘एकजना छनोटकर्ता अमेरिकामा हुनुहुन्छ, उहाँले फिल्म नहेरी कसरी निर्णय गर्नुभयो? आफ्नै फिल्मको मिडिया संयोजक समितिमा बसेर निर्णय गर्नु कत्तिको नैतिक हो?’

ओस्करका लागि यस वर्ष ‘अन्जिला’ र ‘गुन्यु चोलो’ गरी दुई चलचित्रले मात्र आवेदन दिएका थिए। विमल पौडेलको अध्यक्षतामा रहेको छनोट समितिमा मञ्जुकुमार श्रेष्ठ, लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, चिरञ्जीवी गुरागाईं र जीवन पराजुली सदस्य छन्।

पत्रकार र निर्देशकबीच चर्काचर्की
पत्रकार सम्मेलनमा बोर्डले सूचना प्रवाह नगरेको विषयलाई लिएर निर्देशक समुन्द्र भट्ट र पत्रकार रघुनाथ सापकोटाबीच चर्काचर्की परेको थियो।

पत्रकार सापकोटाले सञ्चारमाध्यममा समाचार आउँदा पनि किन थाहा नपाएको भनी प्रश्न गर्दा निर्देशक भट्टले बोर्डको आधिकारिक माध्यमबाट निर्देशकहरूलाई सूचना नआएको र ओस्कर छनोटको कार्यविधि नै स्पष्ट नभएको भन्दै आक्रोश व्यक्त गरिन्।

निर्देशक भट्टले कुनै पनि चलचित्र छनोट भए पनि आफूहरूलाई आपत्ति नभएको तर देशको प्रतिनिधित्व गर्ने विषयमा छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र त्रुटिरहित हुनुपर्नेमा जोड दिइन्।

‘यो देशको प्रतिनिधित्व गर्ने विषय हो, कुनै ठेकेदारले ठेक्का लिनेजस्तो होइन’, उनले भनिन्।

असोज ३, २०८२ शुक्रबार १८:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।