क्रिकेट खेलाडीलाई युएईले भिसा दिएन, क्यान प्रवक्तालाई प्रश्न- खेल सारजाहमा भएन भने कहाँ हुन्छ?

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजबीच संयुक्त अरब इमिरेट्स (यूएई) मा तय भएको ऐतिहासिक टी-२० सिरिज अनिश्चित बनेको छ।
नेपालमा हालै भएको जेन-जी आन्दोलनपछि यूएईले नेपाली नागरिकलाई भिजिट भिसा दिन बन्द गरेपछि सिरिजमाथि नै संकट आइपरेको हो।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा नेपालका कारागारबाट करिब १३ हजार कैदी भागेपछि यूएईले नेपालीका लागि सबै प्रकारका भिसामा रोक लगाएको छ।
यसको प्रत्यक्ष असर नेपाली क्रिकेट टोलीको यूएई भ्रमणमा परेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी र अफिसियलको भिसा स्वीकृतिका लागि प्रयास भइरहेको जनाएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले यूएईको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग समन्वय भइरहेको जानकारी दिए।
‘यूएईले नेपालीलाई भिसा नदिने निर्णय गरेपछि खेलाडीको भिसा प्रक्रियामा समस्या आएको हो,’ उनले उकेरासँग भने, ‘हामीले समाधानका लागि यूएई बोर्ड र आईसीसीसँग निरन्तर समन्वय गरिरहेका छौँ।’
नेपालले यही सेप्टेम्बर २७, २९ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ‘युनिटी कप’ टी-२० सिरिज खेल्ने तालिका थियो।
सिरिज अन्यत्र सार्ने सम्भावनाबारे क्यानले कुनै निर्णय गरिसकेको छैन। प्रवक्ता लामाले सिरिज यूएईमै हुनुपर्नेमा जोड दिएका छन्।
‘खेल सारजाहमा भएन भने कहाँ हुन्छ?’ भन्ने उकेराको प्रश्नमा उनले थपे, ‘त्यो त भन्नै सकिन्न। हुनैपर्यो नि!’
असोज ३, २०८२ शुक्रबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।