राष्ट्रपतिको चियापानमा गएनन् ओली, देउवा र नेपाल; रामबरण र विद्यासहित तीन पूर्वप्रधानमन्त्री सहभागी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन्।
शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएनन्।
जेन-जी आन्दोलनपछि संसद् विघटन गरी अन्तरिम सरकार गठन गरिएको विवादास्पद राजनीतिक परिस्थितिका बीच राष्ट्रपतिले आयोजना गरेको कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरूको अनुपस्थिति रहे।
यद्यपि, कार्यक्रममा पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी भने सहभागी थिए। त्यसैगरी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
यसका अलावा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ लगायतका प्रतिनिधि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ पनि सहभागी थिए।
साथै कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूको पनि सहभागी सहभागिता थियो। कांग्रेसबाट शेखर कोइराला, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार लगायतका नेताहरू चियापानमा उपस्थित रहे।
कार्यक्रममा राष्ट्रपति पौडेलले संसदबाट सरकार बन्ने विकल्प सकिएपछि आम सहमतिमा चुनावमा जानु परेको भन्दै आफ्नो कदमको बचाउ गरेका थिए।
असोज ३, २०८२ शुक्रबार १७:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।