दलका नेता र जेनजी अगुवालाई सँगै राखेर राष्ट्रपतिले भने- ‘संसदबाट सरकार बन्ने उपाय थिएन, छ महिनाभित्र चुनाव गरौँ’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट नयाँ सरकार गठन गर्ने कुनै विकल्प बाँकी नरहेकाले आम सहमतिका आधारमा अन्तरिम सरकार गठन गरिएको बताएका छन्।
शुक्रबार संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरेर नयाँ जनादेशमा जानु नै अहिलेको मुख्य कार्यभार रहेको बताए।
‘प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौँ,’ राष्ट्रपति पौडेलले भने, ‘अब ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौँ।’
उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशले अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेको भन्दै मुलुकले कर्णधार युवाहरू गुमाउँदाको पीडाप्रति गहिरो दुःख व्यक्त गरे। राष्ट्रपति पौडेलले परिस्थितिले आफूलाई भदौ २४ गतेपछिको राजनीतिक रिक्तता र अप्ठ्यारो सम्हाल्ने ठाउँमा ल्याइपुर्याएको बताए।
‘सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ,’ उनले भने, ‘म पनि १७ वर्षको उमेरमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको थिएँ। हरेक पुस्ताको सक्रियताले लोकतन्त्र बलियो हुन्छ।’
अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने विश्वास उनले व्यक्त गरे।
‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ’, उनले भने।
राष्ट्रपति पौडेलले यो घडीमा सबै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायलाई असमझदारी र द्वन्द्व छाडेर सहमति र सहकार्यका साथ निर्वाचन सफल बनाउन क्रियाशील हुन आह्वान गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा जेन-जी आन्दोलनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
असोज ३, २०८२ शुक्रबार १७:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।