दाउन्नेमा पहिरो खस्दा बुटवल-नारायणगढ सडक पूर्ण अवरुद्ध

मध्यविन्दु : लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा पहिरो खस्दा बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि यातायात ठप्प भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराका अनुसार, बुधबारदेखि नै वर्षाका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक खण्डमा आज पुनः पहिरो खसेपछि आवागमन पूर्ण रूपमा बन्द भएको हो।
‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सक्ने अवस्था थिएन, हिलो बाटोमा ट्रक फसेर समस्या भइरहेको थियो,’ प्रहरी प्रमुख बन्जाराले भने, ‘आज दिउँसो पहिरो झरेपछि सडक पूर्ण अवरुद्ध भएको हो।’
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रुहरू राजमार्गमा नै अलपत्र परेका छन्।
नारायणगढ-बुटवल सडक आयोजनाले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । तर, लगातार पानी परिरहेकाले काम गर्न कठिनाइ भएको बताइएको छ।
असोज ३, २०८२ शुक्रबार १६:०४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।