देउवाको टाउकोमा १२ टाँका, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थामा निरन्तर सुधार भइरहेको जनाएको छ।
उनको टाउकोमा १२ वटा टाँका लगाइएको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको पार्टीले जानकारी दिएको हो।
पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवा दुवैको स्वास्थ्यमा सुधार आइरहेको बताए।
‘सुरुमा हामी सबै अतालिएका थियौँ, तर उपचार राम्रो हुँदै गएपछि अहिले उहाँहरू सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,’ विश्वकर्माले भने, ‘सभापतिज्यूको गर्धनभन्दा माथिको भागमा गम्भीर चोट लागेको थियो, जहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनको सामान्य चोट र टाँका लगाइएको घाउ निको हुने क्रममा छ।’
विश्वकर्माका अनुसार, सभापति देउवा अहिले सामान्य हिँडडुल, कुराकानी र पार्टीका नेताहरूसँग संवाद गर्न सक्ने अवस्थामा छन्।
भिडभाड र संक्रमणको जोखिमबाट बचाउन तथा शीघ्र स्वास्थ्यलाभका लागि चिकित्सकको सल्लाहअनुसार उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने विश्वकर्माले जानकारी दिए।
असोज ३, २०८२ शुक्रबार १५:३५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।