जनमत पार्टीले मुख्यमन्त्रीसँग माग्यो स्पष्टीकरण, सिंहले भने- ‘इतिहासमा भगौडा मुख्यमन्त्री बन्न चाहन्नँ’

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उनको दल जनमत पार्टीबीचको विवाद उत्कर्षमा पुगेको छ।
पार्टीको निर्णयविपरीत सरकार नछाडेको भन्दै जनमत पार्टीको अनुशासन समितिले मुख्यमन्त्री सिंहलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ।
तर, मुख्यमन्त्री सिंहले भने संविधान दिवसको कार्यक्रममा बोल्दै संविधान र संघीयता जोगाउन आफूले राजीनामा नदिने अडान सार्वजनिक गरेका छन्।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीद्वारा हस्ताक्षरित पत्रमा मुख्यमन्त्री सिंहलाई गम्भीर आरोप लगाइएको छ।
पार्टीको संसदीय दलले सरकारमाथिको विश्वास नरहेको भन्दै फिर्ता हुन दिएको निर्देशन अवज्ञा गरेको, सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएर पनि पद नछाडेको, पार्टीको हितविपरीत अन्य दलसँग गठजोड गरेको र पार्टीको छविलाई धुमिल्याएको भन्दै उनलाई कारबाही किन नगर्ने भनेर प्रश्न सोधिएको छ।
पत्रमा उनलाई प्रदेश सभा सदस्य र पार्टीको साधारण सदस्यबाट समेत किन नहटाउने भनी तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ।
‘इतिहासमा भगौडा मुख्यमन्त्री बन्न चाहन्नँ’
यता, पार्टीले स्पष्टीकरण सोधेको भोलिपल्टै शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले आफ्नो अडान स्पष्ट पारेका छन्। उनले मुलुक विषम परिस्थितिमा रहेकाले संविधान र संघीयताको रक्षा गर्न आफूले राजीनामा नदिने बताए।
‘जेन-जी आन्दोलनमा समर्थन जनाएर सामाजिक सञ्जालमार्फत राजीनामा दिएको साँचो हो,’ मुख्यमन्त्री सिंहले भने, ‘तर जब मलाई आफ्नै पार्टीका केही व्यक्तिहरू संविधान र संघीयता विरोधीसँग मिलेको आभास भयो, त्यसपछि मैले राजीनामा नदिने निर्णय गरेँ।’
उनले मधेश प्रदेश संघीयताको जननी भएको बताउँदै यस्तो अवस्थामा आफूले पद छाडेर भाग्दा इतिहासमा ‘भगौडा मुख्यमन्त्री’को आरोप लाग्ने जिकिर गरे।
‘त्यसकारण मैले विश्वासको मत लिन्छु। मलाई लाग्छ, अहिलेको अवस्थामा सरकार परिवर्तनको आवश्यकता छैन’, उनले थपे।
पार्टीले स्पष्टीकरण सोधेको विषयमा उनले भने, ‘केही व्यक्तिको उक्साहटमा पार्टीले मलाई स्पष्टीकरण सोधेको छ । तर जब पार्टीले सत्यता थाहा पाउँछ, तब मैले लिएको अडानमा नै सहमत हुनेछ।’
असोज ३, २०८२ शुक्रबार १४:५९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।