काम नगर्ने ठेकेदारका आयोजनाको ठेक्का तोडिने, मन्त्री घिसिङद्वारा तत्काल सूची माग

काठमाडौं : सरकारले लामो समयदेखि काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीहरूको ठेक्का तोड्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले यस्ता आयोजनाको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको हो।
तीनै मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले सचिव तथा विभागीय प्रमुखहरूलाई काम नभएका आयोजनाको सूची तत्काल तयार पारेर पेस गर्न निर्देशन दिएका छन्।
‘अब कसैको अनुहार हेरेर हुँदैन, काम नगर्ने निर्माण व्यवसायीका कारण आयोजनालाई अलपत्र राख्न सकिँदैन,’ मन्त्री घिसिङले भने, ‘त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेस गर्नुहोस्।’
तोकिएको समय र गुणस्तरमा आयोजना निर्माण सम्पन्न नहुँदा मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको र नागरिकले पनि लाभ पाउनबाट वञ्चित भएको उहाँको भनाइ थियो।
हाल सिंचाइतर्फ राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन, भौतिक पूर्वाधारतर्फ तीन सयभन्दा बढी सडक र एक सयभन्दा बढी पुल निर्माणका आयोजना अलपत्र अवस्थामा छन्।
‘निर्णय नगरी काम अघि बढ्दैन, त्यसैले हामी निर्णय गर्छौं,’ मन्त्री घिसिङले भने, ‘अलपत्र बनेका आयोजनाको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्छ। आयोजनालाई यसरी अलपत्र पारेर राख्न पाइँदैन।’
असोज ३, २०८२ शुक्रबार १४:२९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।