जेनजी आन्दोलन शान्त भएपछि फिल्म उद्योगमा चहलपहल, धमाधम ट्रेलर रिलिज

जेनजी आन्दोलन शान्त भएपछि फिल्म उद्योगमा चहलपहल, धमाधम ट्रेलर रिलिज

काठमाडौं : बिहीबारबाट नेपाली फिल्ममेकरहरू जुरमुराउन थालेका छन्। गत भदौ २३-२४ गते जेनजी आन्दोलनले रोकेका चार वटा फिल्मका प्रचार सामग्रीहरू बुधबार धमाधम सार्वजनिक गरिए।

गत आइतबारबाट आफ्ना-आफ्ना सामाजिक सञ्जालमार्फत फिल्मको प्रचार थालेका निर्माण टिमहरू अब फिल्डमै उत्रन थालेका छन्। असोज १३ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’ ले कार्यक्रमको आयोजना गरेरै प्रचार थालेको छ। बिहीबार दिउँसो नयाँबानेश्वरमा रहेको आइएनआइको हलमा ‘ट्रेलर’ रिलिज गरेर प्रचारप्रसार थालेको जानकारी दिइयो।

जेनजीको आन्दोलनअघि फूलपातीबाट प्रदर्शनमा आउन लागेका तीन फिल्ममध्ये ‘माइतीघर’ का निर्माता र ‘बलिदान’ का निर्देशक सन्तोष सेनबीचको विवाद चर्किएको छ। तर बिहीबार भने निर्माता अधिकारी नम्र देखिन्थे। उनले पत्रकारहरूसँग साक्षी राखेर फिल्मको प्रचार थालेको र आरोप-प्रत्यारोपको कुरा मिलेको दाबी गरे। नयाँबानेश्वरको आइएनआइ हलमै सुस्ताएको फिल्मलाई पुनः जुजारु बनाउन ट्रेलर रिलिज गरिएको जानकारी दिइयो।

उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकार केदारप्रसाद घिमिरे, उपासना सिंह ठकुरी, प्रकाश सपुतलगायतको उपस्थिति थियो। एक सातायता जेनजी आन्दोलनमा घटेका घटना सामाजिक सञ्जालमार्फत हेरेर बसिरहेका दर्शकलाई फिल्मको माहोल बनाउन यसले सहयोग गर्योा।

फिल्म ‘माइतीघर’ बाहेक बिहीबार नै कात्तिक ६ गते अर्थात् तिहारको भाइटीकाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वरिष्ठ बलराम’ टिमले पनि आफ्नो प्रचारप्रसार थाल्यो। निर्माण टिमले फिल्मका मुख्य कलाकार दयाहाङ राई र विजय बरालको नोकझोकलाई मुख्य बनाउँदै पोस्टर रिलिज गर्यो्। यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने आशीष एच. तामाङ र श्रीराज कार्की निर्माता हुन्।

कात्तिक ६ गते नै प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘सोल्टिनी’ ले बिहीबार नै टिजर सार्वजनिक गर्योे। यसमा मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुलाई पोस्टरमार्फत प्रस्तुत गरेर प्रचारप्रसार सुरु गरियो। कुनै कार्यक्रम नगरी युट्युबमार्फत टिजर रिलिज गरिएको हो। दसैं सकिएलगत्तै फिल्डमै उत्रिएर फिल्मको प्रचारमा लाग्ने योजना निर्माण टिमको छ।

‘वरिष्ठ बलराम’ सँग प्रतिस्पर्धामा रहेको ‘सोल्टिनी’ लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। जातियताको कथामा आधारित यस फिल्ममा प्रकाश र परीक्षा संगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायत कलाकारको अभिनय छ। कार्यकारी निर्माता ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेको छ।

यता कात्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ ले पनि पहिलो प्रचारप्रसारका रूपमा पोस्टर सार्वजनिक गरेको छ। निर्माण टिमले हिजै पोस्टर रिलिज गर्दै फिल्मको आधिकारिक प्रदर्शन मिति घोषणा गरेको हो। 
हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा काकुको भूमिकाबाट चर्चामा आएका दीपकप्रसाद आचार्यको डेब्यु निर्देशनमा बनेको यस फिल्ममा महेश त्रिपाठी र अञ्जना बराईली मुख्य भूमिकामा छन्। निर्माण टिमले प्रदर्शन हुन एक महिना बाँकी छँदै प्रचारप्रसारलाई ताताएको हो।

‘सासले हैन, साथले चल्ने’ भन्ने ट्यागलाइनसहित निर्माण टिम मैदानमा उत्रिएको छ। यस फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङलगायतको अभिनय छ। दीपक आचार्यकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्।

यसैबीच दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेका तीन फिल्ममध्ये ‘बलिदान’ को पनि शुक्रबार (आज) ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म हलमा लाग्न १० दिन बाँकी छँदा ट्रेलर रिलिज गरिएको हो। यसमा समिर भट्ट, ऋचा शर्मा र निर्देशक सेन मुख्य भूमिकामा छन्। समिरको यो दोस्रो फिल्म भएकाले यसलाई चलाउनु उनको लागि ठूलो चुनौती बनेको छ।

सोही क्रममा हरिवंश आचार्य अभिनित फिल्म ‘हरिबहादुरको जुत्ता’ को प्रचारप्रसार भने अहिले सामाजिक सञ्जालमै सीमित छ। निर्माण टिम अझै फिल्डमा उत्रिएको छैन। निर्माता सरोज ओलीले शनिबार फिल्मको ट्रेलर सार्वजनिक गर्ने जानकारी दिएका छन्। ट्रेलर सार्वजनिक भएपछि दर्शकको ध्यान फिल्मतर्फ मोडिने विश्वास निर्माण पक्षले लिएको छ। 

असोज ३, २०८२ शुक्रबार १३:३२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।