ओस्कार छनोट प्रक्रियामा त्रुटिपूर्ण निर्णय भएको भन्दै ‘गुन्यो चोली’ का निर्देशक भट्टद्वारा छानबिनको माग

काठमाडौं : चलचित्र ‘गुन्यो चोली’ का निर्देशक समुन्द्र भट्टले ओस्कार अवार्डको छनोट प्रक्रियामा त्रुटिपूर्ण निर्णय भएको भन्दै छानबिनको माग गरेकी छन्।
भट्टले यस वर्ष ओस्कार अवार्डको प्रारम्भिक छनोटमा निर्देशक मिलन चाम्सको ‘अञ्जिला’ र आफ्नो फिल्म ‘गुन्यो चोली’ दुवै परे पनि अन्तिममा ‘अञ्जिला’ मात्र टुंगोमा पारिएको बताइन्।
उनले ‘अञ्जिला’ उत्कृष्ट कथा र प्रस्तुति भएको स्वीकारे पनि अन्तर्राष्ट्रिय स्तरमा ‘गुन्यो चोली’ अझ मौलिक, सबल र प्रभावकारी हुने भन्दै निर्णायक समितिको निर्णयप्रति असन्तुष्टि जनाइन्।
उनले एक विज्ञप्ति निकाल्दै छनोट प्रक्रियामा नै पारदर्शिता र निष्पक्षताको अभाव भएको आरोप लगाइन्। निर्णायक समितिमा रहेका एक सदस्य आफैं चलचित्रको मिडिया को-अर्डिनेटर समेत रहेको र अर्को सदस्य अमेरिकामा बसेर चलचित्र नै नहेरी मूल्याङ्कनमा सहभागी भएको गम्भीर त्रुटि भएको उनको आरोप छ।
भट्टले यस्ता अभ्यासहरूले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रतिष्ठामै आँच पुर्याउने भएकाले चलचित्र विकास बोर्डले निष्पक्ष, पारदर्शी र व्यवस्थित प्रक्रिया अपनाएर पुनर्विचार गर्नुपर्ने माग गरिन्। उनले यो विषयलाई गम्भीरतापूर्वक नलिए आफू ओस्कार फिल्म फेस्टिभललाई नै आधिकारिक इमेलमार्फत जानकारी गराउने चेतावनी पनि दिइन्।
असोज ३, २०८२ शुक्रबार १३:०१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।