जेनजी आन्दोलन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की

जेनजी आन्दोलन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाको नेतृत्वमा भएको भदौ २३-२४ को विरोध प्रदर्शनको विश्लेषण गर्दै त्यसलाई भ्रष्टाचारप्रतिको असन्तुष्टिको स्पष्ट प्रतिविम्ब भएको बताएकी छिन्।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित मूल समारोहमा बोल्दै कार्कीले संविधानको मर्म र भावना अनुसार सुशासन, समृद्धि र विकासका क्षेत्रमा भएका कमजोरी र त्यसबाट सिर्जित असन्तोषले यो आन्दोलनलाई जन्म दिएको स्वीकार गर्नुपर्ने बताइन्। ‘लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो। यस आन्दोलनले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यलाई परीक्षण गरेको छ,’ उनले भनिन्। 

उनले युवापुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासका सवाललाई सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन्। यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याइन्।

प्रधानमन्त्री कार्कीले हालैको आन्दोलनले सरकारलाई सुधारको मार्गनिर्देशन दिएको र युवा समुदायले शासकीय प्रणालीमा सहभागिता चाहेको बताइन्। साथै, विकासको संवाहकका रूपमा रहेको निजी क्षेत्रको मनोबल बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक रहेकोमा जोड दिइन्।

उनले असन्तुष्टिलाई एकैचोटि सम्बोधन गर्न कठिन भए पनि सरकार आफ्ना स्रोतसाधन र क्षमताअनुसार समस्याको समाधान गर्न इमानदार प्रयास गरिरहेको बताउँदै नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई केवल उत्सव होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसरको रूपमा लिने आवश्यकता औँल्याउँदै विगत एक दशकमा संविधान कार्यान्वयनबाट के हासिल भयो, के गर्न सकेनौं र आगामी दिनमा के-कस्तो कार्यदिशा आवश्यक छ भन्ने गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरिन्।

उनले संविधानले सङ्घ, प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँट, जनतालाई गुणस्तरीय सेवा र स्थानीय नेतृत्व सशक्त बनाउन आधार प्रदान गरेको भए पनि सेवा प्रवाहमा समान पहुँच, पारदर्शिता, सुशासन, साधनस्रोतको उपयोग, विकास व्यवस्थापन जस्ता चुनौतीहरू अझै बाँकी रहेको बताइन्। यसका लागि सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय समुदायको सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले आफू शासकीय आकाङ्क्षा वा पदको लालचमा नभई, देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधअनुसार प्रधानमन्त्री बनेको स्पष्ट पार्दै संविधानअनुसार छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य रहेको उल्लेख गरिन्।

उनले विगतका जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा जीवनको आहुति दिने सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन। साथै, आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्ति र व्यवसायमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख र नेपालस्थित विदेशी नियोगका प्रमुखहरूको उपस्थिती थियो।

असोज ३, २०८२ शुक्रबार १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।