हठी ओलीले गरेनन् आत्मालोचना, जेनजीलाई भने- असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्

हठी ओलीले गरेनन् आत्मालोचना, जेनजीलाई भने- असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्

काठमाडौं : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अलि बढी जिद्दी छन्। यो उनी आफैपनि स्विकार गर्छन्। उनकै हठका कारण जेनजी आन्दोलनले हिंसात्मक रुप लिएको उनकै दलका नेताहरू समेत खुला रुपमा बोल्न थालेका छन्।

जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको ज्यान जाँदा समेत राजीनामा नदिने अडानमा बसेका ओली त्यतिबेला मात्र राजीनामा दिए जब युवाहरू बालुवाटार आगो लगाउन पुगे। सेनाको हेलिकप्टर चढेर भागेका ओली हालसम्म सार्वजनिक भएका छैनन्। बिहिबार शिवपुरीबाट सेनाको सुरक्षाबाट बाहिर निक्लिएका ओली भक्तपुर डेरा सरेका छन्। उनले संविधान दिवसको दिन आज फेसबुकमा स्ट्याटस लेखे। 

उनको स्ट्याटस आएपछि सबैलाई लगेको थियो-ओली सुध्रिए होलान्, उनले अब त आत्मालोचना गर्छन् होला। ७३ जनाको ज्यान जानेगरि भएको आन्दोलन हुँदा तत्कालीन सरकारको प्रधानमन्त्रीका हैसियतले क्षमा माग्छन् होला।

तर त्यसो भएन। बरु ओलीले सरकारले ताकी-ताकी गोली हान्न आदेश नदिएको दाबी गर्दै प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरेर हत्या भएको बताए। छानबिन गर्न माग समेत गरे। 

ओलीले उल्टै जेनजीहरूलाई पाठ पढाए। तर आत्मालोचना गरेनन्। उनले काजी भीम मल्लको मृत्युदण्ड स्मरण गराउँदै असन्तोषलाई गलत दिशामा लग्दा पछुतो मात्र बाँकी रहने चेतावनीसमेत दिए।

‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ,’ उनले भनेका छन्।

उनले आफू सरकारमा हुँदा देश बिग्रेको काल्पनिक भाष्य बनाएर आक्रोश फैलाइएको आरोप समेत लगाए।  ‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो ? वा बिग्रेको काल्पनिक भाष्य बनाएर मात्रै आक्रोश फैलाइएको थियो ? यी कुरा समयले आफैं भन्नेछ,’ ओलीको भनेका छन्।

उनले विदेश जान/आउन विमानस्थलमा देखिने भीडलाई नकारात्मक ठान्नेहरूलाई अहिले मुलुक बाहिर जानै बन्द भएको अवस्थासँग तुलना गर्दै नयाँ पुस्ताले सत्य बुझ्ने उल्लेख गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ओली पनि उपस्थित हुने भनिएको थियो। तर उनी देखिएनन्। 

ओली बिनै शुक्रबार एमालेले पार्टी मुख्यालयमा कार्यक्रम गर्यो। कार्यक्रममा एमालेका नेताहरूले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति चासो व्यक्त गरे।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे।

महासचिव शंकर पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पारे। ‘समीक्षाबाट भाग्ने पार्टी होइन एमाले,’उनले भने, ‘हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका छौं।’

उनले अहिले देखिएको असन्तुष्टि र आक्रोशको जडमा युवावर्ग, सुकुम्बासी र प्रवासी जनताबीच बढ्दो दूरी रहेको स्वीकार गर्दै ती वर्गको भावना समेट्न नसकिएको कमजोरीप्रति संकेत गरे। ‘महशुस गर्यौं, योजना बनायौं, तर जीवन्त बनाउन सकिएन,’उनले भने। ‘आजको असन्तोष ती योजनालाई व्यवहारमा ल्याउन नसक्दाको परिणाम हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

महासचिव पोखरेलले विशेष गरी युवाहरूलाई राजनीति सँग जोड्ने उद्देश्यसहित एमालेले मिसन सुरु गरे पनि त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको उल्लेख गरे। उनले आगामी दिनमा पार्टी युवावर्गसँग पुनः गहिरो सम्पर्कमा जाने स्पष्ट संकेत दिए।

यसै अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई नेपाली जनताको संकल्प र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गरे। ‘यो दिवस हाम्रो एकताको दिवस हो,’उनले भने, ‘जसले देशलाई नयाँ उचाइमा पुर्याउने सपना बोकेको छ।’

ईश्वर पोखरेलले विगतमा एमालेले अनेक चुनौती र षड्यन्त्र सामना गर्दै यहाँसम्म आइपुगेको बताउँदै अहिले देखिएको अशान्ति र अस्थिरताको अवस्थामा पनि धैर्य, एकता र अग्रगमन आवश्यक रहेको बताए। ‘हामी शान्त तलाउमा डुंगा चलाएर यहाँसम्म आएका होइनौं,’उनले भने, ‘प्रत्येक कालखण्डमा चुनौतीको सामना गर्दै अघि बढेका हौं।’

दुवै नेताले संविधानको रक्षा, युवालाई समावेश गर्ने रणनीति र समसामयिक असन्तुष्टिको कारणलाई सुधारको अवसरको रूपमा उपयोग गर्दै पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

असोज ३, २०८२ शुक्रबार ११:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।