‘ताकी-ताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको छ’

काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक स्ट्याटसमार्फत देशको पछिल्लो अवस्थाबारे प्रतिक्रिया दिएका छन्।
ओलीले गत साता भएको जेनजी प्रदर्शनमा घुसपैठ भएकाले हिंसा मच्चिएको बताए। उनले सरकारले गोली हान्न आदेश नदिएको दाबी गर्दै प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको खुलासा गरे। साथै उनले यो घटनाको छानबिन हुनुपर्ने समेत बताए।
उनले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबारदेखि देशको नक्सा, न्यायालय, व्यापारिक प्रतिष्ठान र नेताकार्यकर्ताको निजी सम्पत्ति जलाइएको भन्दै यसलाई नेपालको संविधान र सार्वभौमसत्तामाथिको ठुलो आक्रमणका रुपमा चित्रण गरेका छन्।
‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो ? वा बिग्रेको काल्पनिक भाष्य बनाएर मात्रै आक्रोश फैलाइएको थियो ? यी कुरा समयले आफैं भन्नेछ,’ ओलीको भनेका छन्। उनले विदेश जान/आउन विमानस्थलमा देखिने भीडलाई नकारात्मक ठान्नेहरूलाई अहिले मुलुक बाहिर जानै बन्द भएको अवस्थासँग तुलना गर्दै नयाँ पुस्ताले सत्य बुझ्ने उल्लेख गरेका छन्।
ओलीले काजी भीम मल्लको मृत्युदण्ड स्मरण गराउँदै असन्तोषलाई गलत दिशामा लग्दा पछुतो मात्र बाँकी रहने चेतावनीसमेत दिएका छन्।
‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ,’ उनले भनेका छन्।
असोज ३, २०८२ शुक्रबार ०९:५६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।