संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं : अध्यक्ष ओली

संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं : अध्यक्ष ओली

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संविधान दिवसका अवसरमा संविधान र सार्वभौमसत्ताको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्ने आह्वान गरेका छन्।

ओलीले फेसबुमा स्ट्याटस लेख्दै संविधान नेपाली जनता आफैंले लेखेको भविष्य रेखा भएको र त्यसको रक्षा गर्नु सबैको दायित्व रहेको बताए। उनले संविधान जारी गर्दा भोगिएका चुनौती र नाकाबन्दी जस्ता परिस्थितिहरू पार गर्दै बनाइएको इतिहासलाई स्मरण गर्दै संविधानप्रति सम्मान र समर्पण आवश्यक भएको जोड दिए।

गत साता भएको प्रदर्शनप्रति दुःख व्यक्त गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा हिंसा फैलिएको बताए। उनले सरकारले प्रदर्शनकारीलाई गोली चलाउन आदेश नदिएको र घटनामा प्रयोग भएका स्वचालित हतियारको स्रोतबारे छानबिन हुनुपर्ने माग समेत गरेका छन्।

साथै, सिंहदरबारमा आगो लागेको, नेपालको नक्सा जलाइएको र विभिन्न सरकारी तथा निजी संरचनामा क्षति पुग्नुका पछाडिको षड्यन्त्रबारे समयसँगै सत्य बाहिर आउने बताए।

ओलीले युवा पुस्तालाई इतिहास पढ्न, वर्तमान वास्तविकता बुझ्न र भावी निर्णय सङ्गत गर्न आग्रह गर्दै त्यसो नगरे हाम्रो सार्वभौमसत्ता केवल इतिहासमै सीमित हुने सम्भावना रहेको बताए।

उनले सबैलाई अपिल गर्दै भनेका छन्- ‘संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।’

असोज ३, २०८२ शुक्रबार ०९:३५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।