संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि हो, संविधान दिवसलाई उल्लासपूर्वक मनाउँ : देउवा

संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि हो, संविधान दिवसलाई उल्लासपूर्वक मनाउँ : देउवा
File Photo

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान नेपाली जनताले पटक-पटक गरेका क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनहरूको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

संविधान दिवसका अवसरमा शुक्रबार जारी सन्देशमा उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षकै परिणामस्वरूप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन्।

सभापति देउवाले आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण वीर सहिदहरूको बलिदानलाई स्मरण गर्दै संविधान दिवसमा श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले असोज ३, २०७२ मा जनप्रतिनिधिहरूको सहभागितामा संविधानसभाबाट पारित भएर संविधान घोषणा भएको स्मरण गर्दै यसले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका आधारभूत मान्यतालाई आत्मसात् गर्दै नागरिकका हकअधिकार सुनिश्चित गरेको बताएका छन्।

संविधान जारी भएको एक दशक पूरा भएको ऐतिहासिक दिनलाई गौरवका साथ मनाउनुपर्ने औंल्याउँदै उनले हरेक वर्ष संविधान दिवसलाई स्वतन्त्रता, समानता र सहअस्तित्वको भावनासहित उल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।

उनले न्याय, समानता, स्वतन्त्रता र बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत यात्रामा प्राण आहुति दिने महान् सपुतहरूप्रति उच्च सम्मान प्रकट गर्दै सबैमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।

असोज ३, २०८२ शुक्रबार ०८:४०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।