समावेशी सिद्धान्तको पूर्ण पालनामा सबैको प्रतिबद्धता अपरिहार्य : उपराष्ट्रपति यादव

समावेशी सिद्धान्तको पूर्ण पालनामा सबैको प्रतिबद्धता अपरिहार्य : उपराष्ट्रपति यादव
File Photo

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अङ्ग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्न सबै पक्षको सक्रियता र प्रतिबद्धता अपरिहार्य हुने बताए।

संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, सङ्घीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउन सबैको सक्रियता आवश्यक हुने उल्लेख गरे। उनका अनुसार यस्ता प्रयासहरूले सङ्घीय प्रणालीप्रति जनविश्वास कायम राख्न निर्णायक भूमिका खेल्नेछन्।

“नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो। यसले हाम्रो राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसाएको छ,” उनले भने।

उनको सन्देशमा पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन र अन्तरिम सरकारको गठनले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको उल्लेख गरिएको छ। उनले भने, “संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ। यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ।”

उपराष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू र पछिल्लो ‘जेनजी’ प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै घाइते तथा अङ्गभङ्ग भएकाहरूप्रति सम्मान प्रकट गर्दै परिवर्तनका अग्रदूतहरूप्रति गहिरो प्रशंसा पनि व्यक्त गरे।

असोज ३, २०८२ शुक्रबार ०७:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।