संविधान दिवसमा राष्ट्रपतिको सन्देश : संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले इमान्दार प्रयास गरौं

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँध्न सफल भएको बताएका छन्।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले ल्याएका विभेद र उत्पीडन अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई संविधानले समान अधिकारसहित एकतामा जोडेको उल्लेख गरे।
राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन आह्वान गरे।
राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको छ। यसका लागि नागरिकले राज्यका सेवासुविधामा समान पहुँच पाउनु र सामाजिक सुरक्षा सुनिश्चित हुनु अपरिहार्य रहेको उनको भनाइ थियो।
संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले मन, वचन र कर्मले इमान्दार प्रयास गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिए। उनले मुलुकको संस्कृति र प्रकृतिले रोजगारी र आम्दानीका असीम सम्भावना बोकेको भन्दै सुशासनमार्फत जलस्रोत र ऊर्जाको व्यवस्थापन गर्न सके नेपाल छिट्टै समुन्नत राष्ट्र बन्न सक्ने विश्वास व्यक्त गरे।
हिमाल, पहाड र तराईको बहुजातीय, बहुभाषी र बहुसांस्कृतिक विशेषतालाई संविधानले समान संरक्षण दिएको उल्लेख गर्दै उहाँले आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने कुनै काम नहुने अपेक्षा व्यक्त गरे।
वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) मनाइन्छ। यस अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै गणतन्त्रका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दलका नेता, लोकतान्त्रिक आन्दोलनमा सहभागी कार्यकर्ता र आमनागरिकको योगदानको प्रशंसा गर्दै सम्मान प्रकट गरे।
असोज ३, २०८२ शुक्रबार ०७:३३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।