निवासमा पैसाको थुप्रो जलेको दाबीबारे पहिलो पटक बोल्यो देउवाको सचिवालय

निवासमा पैसाको थुप्रो जलेको दाबीबारे पहिलो पटक बोल्यो देउवाको सचिवालय

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालय बुढानीलकण्ठ निवासमा अत्याधिक पैसा भेटिएको दाबीबारे पहिलो पटक बोलेको छ। जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन भदौ २४ मा बुढानीलकण्ठमा रहेको देउवा निवासमा उनीहरूमाथि कुटपिट गरी आगो लगाइएको थियो। सेनाले उनीहरूलाई बेलुका ८ बजे उद्धार गरेको थियो।

बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा "देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरङ्ग रहेको" जस्ता कपोकल्पित समाचार सम्प्रेषण भएको दाबी गरिएको छ।

उनले सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार भएको दाबी गरिएको छ। विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार गरेको र त्यो पानी ट्याङ्की रहेको भन्दै जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको दाबी गरिएको छ।

देउवा निवासमा लुटपाट भएको बेलामा केही व्यक्तिहरू पैसा लिएर हिँडेको भिडियो फुटेज बाहिरिएको थियो भने घरमा आगो निभेको केही दिनसम्म केही व्यक्तिहरू घरको जलेको भागमा सुन पाइने भन्दै खोजी गरिरहेका भेटिएका थिए। उता चितवनमा रहेको पुष्पकमल दाहाल प्रचण्डको निवासमा समेत ठूलो परिमाणको पैसा जलेको दाबी सार्वजनिक भएको थियो। यसबारे प्रचण्ड सचिवालय भने मौन छ।

असोज २, २०८२ बिहीबार २३:०५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।