अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ : गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल बढाउनु अपरिहार्य भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ नेतृत्वलाई स्वागत गर्दै उनले कानुनी अस्पष्टताले आर्थिक क्रियाकलापमा समस्या ल्याउने भन्दै कानुनलाई स्पष्ट व्याख्या गर्न सक्ने प्रणाली जरुरी रहेको प्रस्ट पारे। “कानुन स्पष्ट नभए गलत सन्देश जान सक्छ, त्यसैले सबै क्षेत्र सचेत हुनुपर्छ,” गभर्नर पौडेलले भने।
उनले हालैको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि आवश्यक स्रोत अभाव नहुने बताउँदै सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार नै मूल चुनौती रहेको धारणा राखे।
प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुँदा व्यवसायीमा देखिएको निराशाबारे पनि गभर्नरले चिन्ता व्यक्त गरे। तर, उनका अनुसार अबको प्राथमिकता निजी क्षेत्रको मनोबल उच्च राख्दै स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्नु हो।
“कैयौँ निजी भवन र व्यवसायीक संरचना क्षति भए पनि, अब हामीले स्वदेशी लगानी सुरक्षित गर्न सके विदेशी पूँजी पनि आकर्षित हुन्छ। त्यसपछि अर्थतन्त्रलाई गतिशील बनाउन धेरै समय लाग्दैन,” गभर्नर पौडेलले भने।
असोज २, २०८२ बिहीबार २०:१७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।