राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन्

काठमाडौं : राप्रपाले सरकार निर्माणमा हतारो देखिएको भन्दै जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले भ्रष्टाचारको जरोमा प्रहार नगरेको गुनासो गरेको छ।
बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले राप्रपाले आन्दोलनको मूल कारण नै भ्रष्टाचार भएको भन्दै यसको जरोमा प्रहार नगरी सरकार परिवर्तन मात्र गरेर देश अगाडि बढाउन खोज्नु विद्रोहको अपमान हुने ठहर गरेको छ।
पार्टीका अनुसार समस्या नेतृत्वमा मात्र नभई हालको व्यवस्था, निर्वाचन प्रणाली, राज्य संरचना र संवैधानिक नियुक्ति प्रक्रियामा नै रहेकोले ती क्षेत्रमा ठोस सुधार नगरेसम्म भ्रष्टाचार अन्त्य हुन नसक्ने स्पष्ट धारणा राखिएको छ।
बैठकले अन्तरिम सरकारले कम्तीमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह र अन्तरिम संविधानमार्फत मुलुकलाई नयाँ दिशातर्फ लैजानुपर्नेमा जोड दिएको छ। तर, आन्दोलनपश्चात् यी आधारभूत मुद्दा टुंग्याउन असफल हुनु गम्भीर चुक भएको राप्रपाको निष्कर्ष छ।
पार्टीले हालसम्मै असफल भइसकेको संविधानलाई निरन्तरता दिनु मुलुकलाई असफलताको बाटोतर्फ धकेल्नु हो भन्दै अब नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको ठहर गरेको छ। राप्रपाले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२/६३ को समावेशी समानुपातिक प्रणालीलाई संरक्षण गर्दै सबैलाई समेट्ने मौलिक व्यवस्थाबाट मात्र दीर्घकालीन शान्ति सम्भव हुने बताएको छ।
त्यसक्रममा, राप्रपाले जेनजी आन्दोलनका दमनकारीलाई तत्काल कारबाही गर्न, २०४६ सालपछि उच्च पदमा पुगेका नेता, कर्मचारी र उनीहरूको सम्पत्ति छानबिन गर्न, प्रदेश संरचना खारेज गर्न र संसद पूर्ण समानुपातिक बनाउन माग गरेको छ। साथै, सांसदलाई मन्त्री बन्न नपाउने, स्थानीय तह गैरदलीय बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने र प्रधानमन्त्रीलाई दुई कार्यकालभन्दा बढी रहने अधिकार नदिने प्रणाली ल्याउनुपर्नेमा पनि पार्टीले जोड दिएको छ।
यससँगै, राप्रपाले राजसंस्थालाई अभिभावक संस्थाको रूपमा कायम गर्न, पूर्ण धार्मिक स्वतन्त्रता सहित वैदिक सनातन हिन्दूराष्ट्र कायम गर्न र संवैधानिक अंगहरूमा स्वतन्त्र र निष्पक्ष नियुक्ति सुनिश्चित गर्नुपर्ने धारणा राखेको छ।
पार्टीले हालको विद्रोहलाई विगतका गल्ती सच्याउने, भ्रष्टाचार सदा सर्वदा अन्त्य गर्ने र समृद्ध नेपाल निर्माण गर्ने अवसरको रूपमा उपयोग गर्न सबैलाई आह्वान गरेको छ। राप्रपा आफ्नो अडानमा दृढ रहँदै जेनजीको चाहनाअनुसार भ्रष्टाचारमुक्त, समृद्ध र सनातन संस्कृतिसहितको नेपाल निर्माणमा प्रतिवद्ध रहेको जनाएको छ।
असोज २, २०८२ बिहीबार १८:५२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।