‘हामीले गलत विचार लिएका होइनौं, तर व्यवहारमा चुक्यौँ, जेनजी र माओवादीको मुद्दा एउटै हो’

काठमाडौं : जेनजी आन्दोलनसँगै सम्पर्कविहीन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार एकाएक पेरिसडाँडामा झुल्किए। तर मुलुकको पछिल्लो अवस्थाबारे न चिन्ता प्रकट गरे न त आत्मालोचना। त्यो दिन उनमा चिन्ता थियो त केबल पार्टी कार्यालयको। उनले भवनलाई अझ विशाल बनाउने घोषणा गरे। वरिपरिका सबैले ताली बजाए।
उनै प्रचण्डले त्यसको दुई दिन पछि बिहिबार ‘जेनजी आन्दोलन र संविधान दिवसका सन्दर्भमा मेरो अपिल’ भन्दै भिडियो सन्देश जारी गरे। उनले आफूहरूबाट गल्ती भएको स्वीकार गरे। ‘हामीले गलत विचार र नीति लिएका होइनौं। तर व्यवहारमा हामी चुक्यौँ,’ उनले भने।
उनले जेनजी आन्दोलन र १० वर्ष अघिको माओवादीको माग एकै भएको दाबी गर्दै भनेका छन्- ‘त्यतिखेर हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा फरक मत लेखेका थियौं। अहिले जेनजी आन्दोलनले उठाएको माग हाम्रो त्यतिबेलाको मुख्य एजेन्डा हो।’
देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको भन्दै उनले अन्तरिम सरकारलाई असफल बनाउन योजनाबद्ध प्रयास भइरहेको समेत बताए।
‘चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजाने योजनाबद्ध प्रयास हुन सक्छ। हामी घोषित निर्वाचन समयमा सम्पन्न होस् भन्ने चाहन्छौं,’ उनले भने।
उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र भएको भन्दै अहिले लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक रहेको बताए।
प्रचण्डले जेनजी आन्दोलनबाट पनि शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका चुकेको बताए। ‘आज आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो। शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो,’ उनले भने।
असोज २, २०८२ बिहीबार १७:४४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।