जेनजीलाई मतदानमा सहभागी गराउन अध्यादेशबाट ऐन संशोधन गर्दै सरकार

जेनजीलाई मतदानमा सहभागी गराउन अध्यादेशबाट ऐन संशोधन गर्दै सरकार

काठमाडौं : जेनजीलाई मतदानमा सहभागी गराउन सरकारले अध्यादेशबाट मतदाता नामावली ऐन-२०७३ संशोधन गर्ने तयारी थालेको छ। उक्त ऐन निर्वाचनको मिति घोषणापछि निर्वाचनका लागि मतदाता नामावलीमा नामा दर्ता गर्न नपाइने व्यवस्था छ। यही ऐनका कारण जेनजीले ल्याएको परिवर्तन पछि हुने निर्वाचनमा मतदाता नामावलीमा नाम नभएका कारण जेनजीले नै भोट हाल्न नपाउने अवस्था देखिएको भन्दै सरकारले यसबारे तयारी थालेको हो। 

गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताए।

बिहीबार भएको निर्वाचन आयोगसँगको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे।

उनले भने,‘अब निर्वाचन मिति घोषणा भइसकेको छ। मतदाता नामावलीमा नाम थप गर्न नपाइने भन्ने व्यवस्था छ। त्यसलाई अध्यादेश ल्याएर संशोधन गर्नुपर्ने हुन्छ। दल दर्तामा पनि कहीं समस्या छ कि खोजि गरौं भनेर भनेका थियौं। समस्या छैन भन्ने कुरा आएको छ।’

त्यस्तै उनले नयाँ दलहरूको दर्ताको हकमा कुन समयभित्र दल दर्ता गरिसक्नुपर्ने हो त्यसको सूचना बेलैमा दिनुपर्ने धारणा राखे। यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्ने बताउँदै उनले निर्वाचन बिथोल्ने कुनै त्यस्तो किसिमको कारणहरू बन्न नसक्नेगरी काम गर्न निर्देशन दिए।

‘नयाँ दलहरूको दर्ताको हकमा पनि अब निर्वाचनको कार्यक्रमहरूमा उहाँहरूलाई समावेश गर्नुपर्छ। त्यसैले बेलैमा समयभित्र दल दर्ता गरिसक्नुपर्छ भने सूचना दिनुपर्छ। ऐनमा उल्लेख गर्नुपर्ने अवस्था छ भने अध्यादेशबाट संशोधन गरौं। किनकी यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्छ। निर्वाचन बिथोल्ने कुनै त्यस्तो किसिमको कारणहरू बन्न नसकोस्,’ उनले भने।

असोज २, २०८२ बिहीबार १५:५१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।