फुटबलर सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ अस्कर अवार्डका लागि सिफारिस

फुटबलर सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ अस्कर अवार्डका लागि सिफारिस

काठमाडौं : अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ। नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए।

उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ।”

चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। खेलाडी सुब्बाले नै अभिनय गरेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन। उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए।

“नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ। यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ। यो अन्यका लागि प्रेरणा पनि बन्ने छ”, निर्माता श्रेष्ठले भने।

चलचित्र ‘अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले रु नौ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको थियो।

असोज २, २०८२ बिहीबार १४:२३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।