काठमाडौं जिल्ला अदालतको आगलागी शङ्कास्पद : ६१ किलो सुन, सुर्यदर्शन सहकारी ठगी र नक्कली शरणार्थीको मिसिल नष्ट भए

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनकोक्रममा काठमाडौं जिल्ला अदालतको फाँटहरूमा भएको आगलागी निकै शङ्कास्पद देखिएको छ। अदालतमा भएको आगलागीबाट तीन वटा फाँट पूर्ण रूपमा जलाइयो जसमा गम्भीर अपराधका प्रमाणहरू रहेको मिसिल थिए।
आगलागीबाट सबै प्रमाणहरू नष्ट भएको फाँटहरूमा ९, १३ र २१ छन्। त्यही फाँटमा नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रयास, ६१ किलो सुन तस्करी र सुर्यदर्शन सहकारी ठगी सम्बन्धी मिसिलहरू रहेका थिए।
अदालतको तेस्रो तलामा रहेको फाँट नम्बर ९ पूर्ण रूपमा जलेको छ। सो फाँटमा ६१ किलो सुन तस्करीसम्बन्धी महत्त्वपूर्ण फाइलहरू थिए। फाँट नम्बर ९ सँगै फाँट नम्बर १० छ। तर सो फाँटको झ्यालका सिसा समेत फुटेका छैनन्। पूर्ण रूपमा सुरक्षित देखिन्छ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी लगायतकाहरु अभियुक्त रहेको नक्कली शरणार्थी सम्बन्धी महत्त्वपूर्ण फाइलहरू रहेको अदालतको फाँट नम्बर १३ मा पनि आगो लगाएर सबै मिसिलहरू नष्ट गरिएको छ। सो फाँटमा एउटा पनि फाइल बाँकी नरहेगरि खरानी बनाइएको छ। फाँट नम्बर १३ मा सहकारी ठगी र ललितानिवासको सरकारी जग्गा व्यक्तिगत बनाएको बारेका महत्त्वपूर्ण प्रमाणसहितका मिसिलहरू थिए।
गम्भीर अपराध सम्बन्धी फाइलहरू रहेको २१ नम्बर फाँटमा आगो लगाएर नष्ट गरियो। फाँट नम्बर २१ मा समेत आगो लगाउँदा त्योसँगै रहेको फाँट नम्बर २२ भने पुरै सुरक्षित देखियो।
देशका ठूला र चर्चित आपराधिक घटनासँग जोडिएका फाइलहरू रहेको शाखाहरू लक्षित आगलागीले शङ्का बढाएको छ।
रवि लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको मुद्दा विचाराधीन छ। त्यसका मिसिलहरू समेत जले। स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान गरेको प्रहरी वृत्त कालीमाटीमा समेत आगो लगाएर मिसिल नष्ट बनाइएको छ।
चिनियाँ गिरोहले हङकङबाट मोटरसाइकलको ब्रेकप्याड (ब्रेक सु) मा लुकाएर ल्याएको करिब ६१ किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले २०८० साउन ३ गते विमानस्थल बाहिरबाट बरामद गरेको थियो। यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो चरणको अनुसन्धान सकिएपछि भदौ ३१ गते २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएको थियो। नक्कली सुन प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा लगायत जोडिएका थिए।
सीआईबीले दोस्रो चरणको अनुसन्धान गरी जिल्ला अदालत, काठमाडौँमा असार १९ गते ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। दोस्रो चरणको अभियोगमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको थियो। उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको थियो।
त्यस्तै ३१ जना प्रतिवादी रहेको भुटानी शरणार्थी मुद्दा किनारा लगाउने तयारी रहेकै बेला यो मुद्दाका सबै फाइल जलेर नष्ट भए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्री खाँणसहित सहित उच्च पदाधिकारी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर थियो।
यो मुद्दामा दुई वर्ष देखि थुनामा रहेको एमाले नेता टोपबहादुर रायमाझी, धरौटीमा छुटेका काँग्रेस नेता खाँण सहित ३१ जना जोडिएका छन्। यो योजनामा संलग्न अभियुक्तमाथि दायर मुद्दाको जिल्ला अदालत काठमाडौँबाट अन्तिम टुंगो लाग्ने क्रममा फाइल सबै जलेर नष्ट भए।
तत्कालिनमन्त्रीदेखि निजामती, मालपोतका कर्मचारीसहित प्रभावशाली व्यवसायीहरू जोडिएको ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको बारेको फाइल समेत जलेर नष्ट भएको छ।
असोज २, २०८२ बिहीबार १४:१९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।