पञ्चायतकालीन जनप्रतिनिधि हरिप्रसादको हिजोका कुरा : त्यतिबेला तलब सुक्खै हो, वडाध्यक्षलाई सय रुपैयाँ भत्ता दिन्थे

गोठाटारका स्थानीय बासिन्दा हुन् हरिप्रसाद चापागाईं। उनी उमेरले ७२ वर्षका भए। साधारण लेखपढ मात्र गरे तापनि पञ्चायतकालमा उनी गोठाटार-६ को निर्वाचित वडा सदस्य बने। उनले पञ्चायत व्यवस्था लागु हुँदादेखि अहिले जनआन्दोलनसम्म देखेका छन्।
उनी जन्मँदा देशमा राणा शासन अन्त्य भइसकेको थियो। तर, उनका हजुरबुबा र बुबाले राणा शासनको अधीनमा जीवन बिताए। उनले आफूले थाहा पाएको, जानेको र बुझेको बारेमा आफ्ना भनाइ उनले उकेराको ‘हिजोको कुराकानी’ स्तम्भमा यसरी सुनाएः
बाल्यकालमा देखेको मेरो गाउँ
मेरो जन्म यही गोठाटारमा नै भएको हो। २०१० सालतिर गोठाटारलाई मनहरा, घट्टेकुलो वडा नम्बर ६ भन्थे। मैले थाहा पाउँदा गोठाटारमा एउटा तेजविनायक स्कुल थियो, ३ कक्षासम्म। यहाँ ३ कक्षा पढिसकेकाहरू गान्धी स्कुलमा पढ्न जान्थे। मैले चाहिँ साधारण लेखपढ मात्रै गरेँ, पढिनँ भन्दा पनि हुन्छ।
मैले थाहा पाउँदा पढ्नु हुँदैन भन्ने कुरा त कसैले पनि गरेनन्। म जन्मिनुभन्दा ३ वर्षअघि नै राणा शासन ढलिसकेको थियो। स्कुलहरू खुल्न थालिसकेका थिए। त्यो बेला त्यस्तै भयो, पढिएन।
मैले थाहा पाउँदा यो ठाउँ हराभरा थियो। अहिले घरैघर फलेका छन्, त्यो बेला धानै धान फल्थ्यो। एक माना बिउ रोप्यो भने एक मुरी फल्थ्यो। त्यस्तो थियो त्यो समय। यो गोठाटार-काँडाघारीमा हिँड्न सकिँदैन थियो। पूरै थलथल माटो, हिँड्दा घुँडासम्म भासिन्थ्यो।
पानीको कुरा गर्ने हो भने, धान रोपेका गराबाट बग्ने पानीको आवाजले घरमा बसेर कुरा गर्न सकिँदैन थियो। अहिले ती पानीका स्रोत कहाँ गए होलान्! हेर्दाहेर्दै यो ठाउँमा धान होइन, घर फलेका छन्।
त्यो समयमा मान्छेहरूले चोभारदेखि थापाथलीसम्म निकै परबाट बालुवा निकाले। त्यो निकाल्न थालेपछि खोला गहिरियो। यताको पानीसमेत सोसिएर उतै गयो। त्यसपछि यताको त्यो थलथल जमिन सुक्खा हुन थाल्यो। अहिलेसम्म पनि त्यसको असर परेको छ। खोला तल गयो, जमिन माथि आयो।
त्यो बेलाको दशैं
अहिले मान्छेले के दशैं मान्छन् र? त्यतिबेला पो मान्थे। अरू ठाउँमा के थियो, कसो थियो थाहा भएन, तर यहाँ दशैंमा जो मासु खान मन पराउँथे, उनीहरूले अर्काबाट मासु किन्दैनथे, घरैमा ल्याएर काट्थे।
निकै थोरै मासु खानेले चाहिँ अर्कोसँग मिलेर भए पनि काट्थे। त्यतिबेला मासु किन्नुपर्यो भने नजिकमा पसल थिएन। कि डिल्लीबजार पुग्नुपर्थ्यो। कोटेश्वरमा पनि गाउँ थिएन। डिल्लीबजारमा नभए ठिमी जानुपर्थ्यो, अन्त मासु पसल नै थिएन। खसी-बोका किन्नुपर्यो भने सुन्धारा नै पुग्नुपर्थ्यो। अरू बजार भए पो!
मैले थाहा पाउँदा गोठाटारतिर भाडाका गाडीहरू चल्दैनथे। हिँडेर जाने, हिँडेरै आउने हो। अहिलेको विमानस्थल पनि यति ठूलो थिएन। बीचबाट हिँडेर सिनामंगल निस्केर जानुपर्थ्यो, बाटो त्यतै थियो। पछि पो राजा महेन्द्रले कोटेश्वर लगायतका सबै जग्गा अधिग्रहण गरेर विमानस्थल बढाएका हुन्। त्यो सबै थाहा छ मलाई।
त्यो बस्ती उठाउँदा कसैले पनि विरोध गरेको मैले देखिनँ। कोही कोटेश्वरतर्फ लागे, कोही पेप्सिकोला आए, कोही कता गए। त्यो विमानस्थल त्यही २७ सालतिर विस्तार भएको हो। त्योभन्दा अघि त साना हवाईजहाज चल्थे। अहिलेको बुद्ध एयरको पार्किङ छ नि, त्यहाँसम्म मात्रै थियो। त्यहाँदेखि कोटेश्वरसम्म गाउँ र गौचरन थियो।
विमानस्थललाई जग्गा पुगेन भनेर महेन्द्रले २७ सालमा गाउँ उठाएका हुन्। त्यसपछि यति ठूलो विमानस्थल भएको हो। नत्र कहाँ थियो र यत्रो?
त्यही विमानस्थलको बीचबाट नै हाम्रो बजार आउजाउ गर्ने बाटो थियो। त्यसरी दशैंमा खसी-बोका किनबेच गरिन्थ्यो। अर्को कुरा, हामी असन बजार जाँदा सिंहदरबार र धरहरा वरपर सबैतिर खेतीपाती नै हुन्थ्यो। मान्छेहरू खेतीपाती गरिरहेका हुन्थे। मुलाखेती, काउलीखेती, धानखेती हुन्थ्यो। धान काटेर मुला रोप्थे।
राणाले ठूला घर बनाउन दिँदैनथे
मैले थाहा पाउँदा अधिकांशका घर झिँगटीका थिए। राणाहरूको घर नजिक भएकाले उनीहरूसँग परामर्श गरेर मात्र बनाउन पाइन्थ्यो, नत्र त्यो पनि नपाइने रहेछ। राणाहरूले अलि ठुला घर बनाउन दिँदैनथे।
राणाको समयमा पढ्न पनि नपाइने, उनीहरूका अगाडि ठुला घर बनाउन पनि नपाइने। सबैले परालले घर छाएको हुनुपर्ने। झिँगटीको घर बनाउन राणाहरूले ‘हुन्छ’ भनेपछि मात्र पाइने रहेछ। हाम्रो घरचाहिँ झिँगटीको थियो, किनभने राणाको छिमेकी भएकाले बुबाहरूले अनुमति माग्दा पाएका रहेछन्।
त्यो बेला नपोलेको काँचो इँटा आफैँले बनाउँथे। जहाँको माटो राम्रो हुन्छ, त्यहीँबाट झिक्यो, इँटा बनायो। गाउँभरि बाँसैबाँस थियो। काँचो इँटा लगाएर परालको छानो हालेपछि घर तयार हुन्थ्यो। उनीहरूले झिँगटीको घर बनाउँदासमेत कति कडाइ गर्थे भने अरू त कल्पनाभन्दा बाहिरको कुरा थियो। त्यसबेला ‘रैतीले पढे भने हामीलाई लखेट्छन्’ भन्थे रे! त्यही हल्ला गाउँमा चलेको थियो। अर्को कुरा, राणाले पनि कहाँ पढेका थिए र?
सबै राणा खराब पनि रहेनछन्। यही मेरो छिमेकमा जगतजंग राणाको घर छ, जंगबहादुरको जेठो छोरो। यो राणाले के गर्थ्यो रे भने, जनताले खाए-खाएनन् भनेर आफ्नो अग्लो घरबाट हेर्थ्यो रे। बुबा-हजुरबुबाहरूले यस्तै कुरा गर्नुहुन्थ्यो।
२००७ सालमा राणा लखेटिएपछि सिन्धुलीको झाँगाझोलीबाट केही मानिसहरू ‘यो हाम्रो पुर्खाको जग्गा हो’ भनेर आएर बसे। अहिले त तिनै राणाका सन्तानहरूले जग्गा प्लटिङ गरेर बेचेर खाइसके, थोरै बाँकी होला कि त्यो पनि छैन।
गोठाटारको गान्धी स्कुल
यो काँडाघारीको गान्धी स्कुल मैले थाहा पाउँदादेखि नै थियो। पहिला यो स्कुल नभएर कारागार रहेछ। त्यो बेलामा मान्छेहरू बिग्रिए भने यहाँ ल्याएर थुन्दा रहेछन्। यता राणाको दरबार, उता कारागार। जो बिग्रन्छ, ल्याएर थुनिहाल्ने रहेछन्, यो वा त्यो केही भन्न नपाइने।
यो कुरा कसरी थाहा भयो भने, हाम्रो बाउबाजे नै गोठाटारका बासिन्दा हुन्। चापागाईँका ४ जना दाजुभाइको सुरुवाती बस्ती रहेछ, हामी त्यसैका हाँगाबिँगा हौँ। बुबा-हजुरबुबाहरूले गफ गर्दा हामी सुन्थ्यौँ। जगतजंग एकथरी गुणका, अरू अर्काथरी गुणका, कुरा नमिल्दा उनीहरूले आफैँले निर्माण गरेको कारागार रहेछ यो, पहिलाको गान्धी स्कुल। त्यही समयमा यो जगतजंग जनप्रेमी रहेछ। कताबाट के दबाब आयो, के भयो, ऊ मरेछ।
पछि पाटनका एकजना अमात्य थरका मान्छेले गान्धीसँग के सम्झौता गरे कुन्नि, अनि स्कुल निर्माण गरे। यो स्कुलमा कृषि, विज्ञान लगायत अरू विषयमा पढाइ पनि हुन्थ्यो, प्राक्टिकल पनि। कृषिका विद्यार्थीहरू अधिकांश बर्खाको बेला खेतमा भेटिन्थे।
उपत्यकाभित्रको सबैभन्दा पहिलो होस्टल भएको स्कुल नै गान्धी स्कुल हो। यसपछि अर्को फर्पिङमा थियो। घरेलु उद्योग पनि थियो, कोही लुगा सिलाइ-बुनाइ गर्थे, कोही धोती-पछ्यौरा बुन्थे। सबै तानाबाना थियो यो स्कुलभित्र। अहिले पनि छ होला, म छिरेको छैन। मासेका छैनन् होला भन्नुपर्यो।
त्यतिबेला पढाइसँगसँगै प्राक्टिकल पनि गराउँथे। अहिले त मास्टर पढेकाले पनि केही जान्दैनन्, त्यतिबेला अक्षर चिनेपछि निकै कुरा जान्दथे। स्कुलमा दिएको होमवर्क भोलिपल्ट नहेरीकन सर-मिसलाई सुनाउनुपर्थ्यो। नसुनाए फेल। पढाइमा कडाइ थियो।
अहिलेको जस्तो जग्गा पास हुँदैन थियो
मैले थाहा पाउँदा लालपुर्जा भन्ने हुँदैन थियो। बोडेपारि नेवार मुखिया थिए। जग्गा पास वा तिरो तिर्नुपर्यो भने घरायसी कागज लिएर गएपछि उनैले गरिदिन्थे। उनको रोहवरमा औँठाछाप लगाइदिएपछि सकिन्थ्यो। त्यो कागजलाई पछि मालपोतले पनि मान्यता दिएको थियो।
त्यो तिरो तिरेपछि भक्तपुरमा अर्को को ठुलाबडा छ, उसैलाई बुझाउँदा रहेछन्। दरबारमा बुझाउने चलन थिएन। २१ सालसम्म त भक्तपुरमा नै तिरो तिर्ने चलन थियो, त्यसपछि हटेको हो।
राजा महेन्द्रले कोही धनी, कोही गरिब भए, सबैलाई बराबर गर्छु भनेर मोहियानी हकको व्यवस्था गरे। यो गोठाटारभरिमा त्यो बेला हामी चार घर मात्रै जग्गावाल थियौँ। आफूले सबै काम गर्न नसकेपछि अरूलाई अधियाँमा दियौँ। त्यतिबेला बाहिरका मान्छेहरूलाई काम गर्ने ठाउँ कतै नभएपछि ‘ल, गर’ भनेर दिने चलन रहेछ।
काम गर्नेले उत्पादनको चार भागको एक भाग पाउँथ्यो, बाँकी जग्गाधनीको हुन्थ्यो। त्यो पनि वर्षभरिको। ‘तैँले सालको यति मुरी अन्न दिनुपर्छ’ भनेर कबुल हुन्थ्यो। कहिलेकाहीँ त्यति उब्जनी नहुन पनि सक्थ्यो, अनि बाँकी रहँदै त्यो थपिँदै जान्थ्यो। तिरो बुझाएको भरपाई लिन जाँदा बाँकी रकम लेखेर ल्याउने चलन थियो।
अनि २१ सालमा राजा महेन्द्रले भूमिसुधार लागु गरिदिए। यो लागु भएपछि मोहियानी हकको कुरा आयो। कमाउने र मालिकको बराबर भनिदिए। त्यही भएर हाम्रो जग्गा पनि गयो। त्यसपछि सबै मान्छे पहिलाको तुलनामा धनी भए। हाम्रो चार बाजेको डेढ-दुई सय रोपनी जग्गा त्यसैमा पर्यो। हामीले जोड्न सकेनौँ, त्यस्तै भयो।
म पञ्चायतको वडा सदस्य, तलबभत्तै हुँदैनथ्यो
पञ्चायतकालमा म आफैँ वडा ६ को वडा सदस्य भएको थिएँ। चार जनामा अरू चुनाव जितेर आए, मलाई भने सर्वसम्मतिमा ल्याए। १७ सालमा महेन्द्रले ‘कु’ गरे भन्थे, राजनीतिक कुरा गर्दा। त्यतिबेला राजा महेन्द्रसँग बीपी कोइराला, मातृका कोइरालाको लफडा परेको रहेछ। म त सानै थिएँ। त्यतिबेला अखबारहरू हुँदैनथे, मान्छेहरू बसेर गफ गर्दा सुनेको हो।
यो समयमा राजाले आफ्नो विरोध गर्नेहरूलाई जेल हाले। गणेशमान सिंह त ढलबाट घिस्रेर बाहिर निस्केको भन्ने हल्ला थियो। पछि उनले भाषण गर्दा ‘राजाको र मेरो घाँटी दाँज्दा मेरो माथि राख्नुपर्छ’ भन्थे। बीपीलाई महेन्द्रले सुन्दरीजलमा खोर बनाएर थुनेका थिए। यो ३६ सालअघिको कुरा हो।
३६ सालको आन्दोलन निकै चर्को थियो। त्यतिबेलाका कम्युनिस्ट र कांग्रेसले राजा हटाउने भन्थे। उनीहरूले राजाको विरोध किन गरेका थिए भने ‘राजा र उनका सन्तानले मात्रै भत्ता खाए, अरूलाई छैन’ भन्ने खालको कुरा गर्थे।
नेताहरूले ‘हामीलाई भात खान छैन, उनीहरूका सन्तानले मात्रै भत्ता खाने?’ भनेर रिस पोख्थे। त्यसपछि जनताले के भन्छन् भनेर बहुदल र निर्दलको चुनाव गराए, त्यसमा पञ्चायतले नै जित्यो। ४६ सालमा म पञ्चायतको वडा सदस्य थिएँ।
म सरकारविरोधी आन्दोलनमा जाने कुरै भएन। अहिलेको जस्तो नगरपालिकामा मिटिङ बस्दा होस् या अन्यत्र, कुनै तलबभत्ता हुँदैन थियो। प्रधानपञ्च, उपप्रधानपञ्च र वडाध्यक्षलाई मात्र भत्ता दिन्थ्यो क्यारे, नत्र अरूलाई छैन।
हामी वडा सदस्यलाई त सुक्खै हो, केही हुँदैन थियो। हाम्रो काम पनि खासै हुँदैन थियो। मान्छेहरू भेला भएको समयमा उपस्थित भइन्थ्यो, त्यति हो। वडाध्यक्षलाई सय रुपैयाँ थियो क्यारे भत्ता, नत्र केही पनि हुँदैन थियो।
असोज २, २०८२ बिहीबार १३:३८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।