सौराहामा आन्दोलनको असर, पर्यटकीय याममै शतप्रतिशतसम्म होटल बुकिङ रद्द

चितवन : गत भदौमा भएको आन्दोलनको असर चितवनको पर्यटकीय केन्द्र सौराहामा देखिन थालेको छ।
पर्यटकीय याम शुरू भएलगत्तै विदेशी पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्न थालेका छन्, जसका कारण व्यवसायीहरू चिन्तित बनेका छन्।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डेका अनुसार, भदौ २३ र २४ गतेको आन्दोलनपछि अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकारात्मक सन्देश प्रवाह हुँदा सेप्टेम्बर महिनाका लागि भएका लगभग शतप्रतिशत बुकिङ रद्द भएका छन्।
‘यो सिजनमा ६५ देखि ७० प्रतिशतसम्म होटल भरिभराउ हुने अपेक्षा थियो, तर अहिले अधिकांश होटलका एक/दुई कोठामा मात्रै पर्यटक छन्’, उनले भने।
आगामी महिनाका लागि भएका बुकिङ पनि रद्द हुने क्रम जारी छ।
संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूले पर्यटकको सुरक्षामा चिन्ता व्यक्त गर्दै दैनिक सयौंको संख्यामा इमेल र सन्देश पठाइरहेको जानकारी दिए।
उनका अनुसार, हाल सौराहाका होटलहरूमा कुल क्षमताको पाँच प्रतिशत पनि पर्यटक छैनन्, जबकि सामान्य अवस्थामा यो समयमा होटलहरू भरिभराउ हुन थालिसक्थे।
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मानिने सौराहा जङ्गल सफारीका लागि विश्वभर प्रसिद्ध छ। पर्यटकीय यामको मुखैमा बुकिङ रद्द हुन थालेपछि यहाँको पर्यटन व्यवसाय संकटमा पर्ने देखिएको छ।
असोज २, २०८२ बिहीबार १२:०४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।