प्रहरीमा एसपी र डिएसपीको ठूलो सरुवा, उपत्यकासहित मोरङ र बाँकेसहितका जिल्ला प्रमुख फेरिए

प्रहरीमा एसपी र डिएसपीको ठूलो सरुवा, उपत्यकासहित मोरङ र बाँकेसहितका जिल्ला प्रमुख फेरिए

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) गरी २२६ जना अधिकृतको सरुवा गरेको छ।

भदौ ३१ गतेको निर्णयअनुसार ४८ जना एसपी र १७८ जना डिएसपीको सरुवा गरिएको हो।

यो सरुवाले मोरङ, सुनसरी, बाँके जस्ता महत्वपूर्ण जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् भने काठमाडौं उपत्यकाका अधिकांश प्रहरी वृत्तले पनि नयाँ नेतृत्व पाएका छन्।

सरुवा सूचीअनुसार, जिल्ला प्रहरी कार्यालय मोरङमा कबित कटुवाल, सुनसरीमा केशव कुमार थेबे, बाँकेमा अंगुर जि.सी. र मकवानपुरमा गौतम कुमार के.सी.लाई प्रमुखको जिम्मेवारी दिइएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीका बाल नरसिंह राणा, पर्साका अच्युत राज बोहरा र दाङका अर्जुन प्रसाद तिमिल्सिनाको पनि सरुवा भएको छ।

यसैगरी, डिएसपीतर्फको सरुवाले काठमाडौं उपत्यकाका महत्वपूर्ण मानिने प्रहरी वृत्त महाराजगन्ज, गौशाला, दरबारमार्ग, स्वयम्भू, बौद्ध, जनसेवा लगायतका वृत्तमा नयाँ प्रमुख पठाइएको छ।

तनहुँ, पाँचथर, बर्दिया, डोटी, उदयपुर जस्ता जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रमुखहरू पनि फेरिएका छन्।

प्रहरी महानिरीक्षकको सचिवालयको निर्णयअनुसार सरुवा भएका अधिकृतहरूलाई असोज महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ।

असोज २, २०८२ बिहीबार ११:५०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।