जेन-जी आन्दोलन दलको योगदान मेटाउने ‘दुष्प्रयास’ हो, छानबिन गरियोस् : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हालैको जेन-जी आन्दोलनलाई दलहरूले देशका लागि गरेको योगदानलाई शून्य देखाउने ‘दुष्प्रयास’ को संज्ञा दिएका छन्। उनले आन्दोलनका क्रममा भएका गतिविधिहरूको निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन्।
बिहीबार बिहान कांग्रेस संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औं स्मृति दिवसको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले यस्तो धारणा राखेका हुन्।
उनले भने, ‘जेन-जी आन्दोलनको कभरअपमा दल र दलले गरेको जुन योगदान छ, त्यो योगदान केही होइन भनेर देखाउने दुष्प्रयास भइरहेको छ। त्यसैले अहिले यसको राम्रोसँग छानबिन गर्न आवश्यक छ।’
उनले यस्ता प्रयासप्रति सरकार र राजनीतिक दल दुवै सजग हुनुपर्नेमा जोड दिए।
नेता सिंहले उक्त टिप्पणी शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि गरेका हुन्।
आफ्ना पिता गणेशमान सिंहको योगदानको स्मरण गर्दै उनले प्रजातन्त्र स्थापनाका लागि दलहरूले गरेको संघर्ष र बलिदानलाई अवमूल्यन गर्न खोजिएको बताए।
‘जनतालाई अधिकार दिलाउन उहाँ (गणेशमान)ले गर्नुभएको योगदान महत्त्वपूर्ण छ। उहाँले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन,’ सिंहले भने, ‘नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभयो। दलहरूले कति धेरै संघर्ष गरेका छन् भन्ने कुरा यस्ता तथ्यबाट थाहा हुन्छ।’
उनले देशमा ठूला राजनीतिक परिवर्तन ल्याउन राजनीतिक दलहरूले नै नेतृत्व गरेको ऐतिहासिक तथ्यलाई नयाँ पुस्ताले बिर्सन नहुने र कसैले बिर्साउन खोज्दैछ भने त्यो गलत भएको बताए।
असोज २, २०८२ बिहीबार ११:०७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।