जेनजी आन्दोलन : डीएसपी लुकेको हल्लाका भरमा सर्वसाधारणको घरमा लुटपाट र आगजनी

काठमाडौं : भदौ २३ गते सोमबार नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर विद्यार्थीहरूसहित १९ जनाको मृत्यु भएको खबरको रापले भदौ २४ गते मंगलबार चोक-चोकमा आगो झोसिरहेकोबारे सुबिन राई (परिवर्तित नाम) पूरै जानकार थिए।
स-परिवार घरमा खाना खाएर बसिरहेका थिए। अचानक मंगलबार दिउँसो मानिसहरूको एक हुल हो-हल्ला गर्दै भित्र पस्न खोज्यो। उनीहरू निकै आक्रोशित भएर गेट फोड्न लागे। त्यो देखेर उनी तर्सिए। क्षणभरमै त्यो भिड उनको घरको आँगनमा आइपुग्यो र तोडफोड गर्न थाल्यो।
‘अगाडि एक-दुईजना गेट खोल्न खोज्दै थिए। हामी त के गर्ने-गर्ने भयौँ। पछि गेट खुल्नेबित्तिकै भिड ह्वार्रै हाम्रो घरभित्र आयो,’ त्यस दिनको घटना सम्झिँदै उनले भने, ‘उनीहरूका हातमा मैले अहिलेसम्म नदेखेका हतियार थिए। कराउँदै, ‘डीएसपी खोइ?’ भन्न थाले। म त अक्क न बक्क भएँ।’
उनको आँखाले त्यसबेला जे देख्यो, त्यसलाई विस्तारमा बताउन खोज्दा पनि उनको गला अवरुद्ध हुन्थ्यो।
‘मलाई त मेरो परिवारलाई बचाउनुपर्छ भन्ने मात्र दिमागमा आयो। अनि म छोराछोरी बोकेर छिमेकीको शरणमा गएँ’, डरमिश्रित आवाजमा उनले भने।
छिमेकीको घरमा आफू र आफ्ना सन्तानलाई राखे पनि वृद्ध आमाबुबा भने घरमै रहेको कारणले उनी तुरुन्तै घर फर्किए।
उनी सुनाउँछन्, ‘मेरी आमाको घुँडामा समस्या भएकाले उहाँ हिँड्न सक्नुहुन्न। म फेरि घर जाँदा त्यो भिडले घरको सामानहरू लुट्न थालिसकेको थियो।’
‘भिडले हामीलाई नै कुल्चेर बाँकी नराख्ने थियो कि भन्ने पनि लाग्छ’
उनले त्यसबेला भिडसँग प्रतिवाद गर्न पनि खोजे। तर भिडको एउटै रटान थियो, ‘डीएसपी खै? त्यसलाई कहाँ लुकाएको छस्?’
डीएसपी आफ्नो घरमा नभएको भनिरहँदा केहीले भने उनको गाडीहरूमा तोडफोड गर्दै आगो लगाउन थालिसकेका थिए। भिडसँग बहस गर्नुको अर्थ नदेखेपछि उनी आमाबुबालाई समातेर त्यहाँबाट उम्किए।
‘अहिले सोच्छु, मैले रोक्न अझै प्रयास गरेको भए हाम्रो यति धेरै क्षति हुँदैनथ्यो कि! तर फेरि जस्ता समाचार आइरहेका छन्, त्यो हेर्दा त त्यो भिडले हामीलाई नै कुल्चेर बाँकी नराख्ने रहेछ भन्ने लाग्छ’, डढेका गाडीहरू देखाउँदै उनले भने।
साना बालबच्चा र बुढा आमाबुबा सम्हाल्दै आफूलाई पनि सम्हालेर उनी छिमेकीसँग गुहार माग्न पुगे। लगभग दुई घण्टापछि छिमेकीहरूको समूहसहित घर पुग्दा गाडीसँगैको दुई तले स्टोर रुम दनदनी जलिरहेको थियो। घरका झ्याल-ढोका सबै फुटेका थिए। कम्प्युटर लगायत घरका महँगा सामान चोरी भइसकेका रहेछन्।
‘लगभग दुई घण्टामा यहाँ जे भयो, त्यो सम्झिँदा पनि डर लाग्छ। त्यो बेलाको सबै फुटेज हामीसँग छ। तर प्रहरी सक्रिय नभएको कारण हाम्रो डर र त्रास कम भइसकेको छैन,’ उनी भन्छन्, ‘मान्छेको लागि सबैभन्दा सुरक्षित ठाउँ घर नै हो भनिन्छ। तर, हाम्रो घर हाम्रै लागि सुरक्षित भएन।’
अझै पनि त्यो भिड र भिडका केही व्यक्ति फेरि आउँछन् कि भनेर डर लागिरहने उनले सुनाए।
‘पहिला त आन्दोलनमा टायर मात्र जलाउने गर्थे। अब त घरै जलाउन पनि पाइने भयो कि जस्तो लाग्यो। म नै यति धेरै त्रसित छु भने मेरा बच्चा र आमाबुबाहरू कति डराउनुभएको होला’, उनले भने।
उनको घर कालिमाटी प्रहरी चौकी नजिकै छ। २४ गतेको आन्दोलनमा यहाँको प्रहरी चौकी पनि पूर्ण रूपमा जलेको छ। अगाडि भएका गाडीहरू पनि खरानी बनेका छन्। गाडी र स्टोर रुममा आगो लागिसकेको भए पनि घरमा भने आफूहरू छिटो पुगेको कारणले आगो लगाउनबाट रोक्न सफल भएको उनले बताए।
छिमेकीहरूलाई लिएर गएपछि उनले प्रहरी, एम्बुलेन्स र दमकल सबैमा फोन घुमाए। तर त्यसबेला कुनै पनि निकायको सहयोग पाएनन्।
‘बल्खु खोलाको पानी ल्याएर हामीले आगो निभाउने कोसिस गर्यौँ। तर त्यो आगो रातभर पनि निभेको थिएन’, उनले भने।
पूरै परिवार त्रसित
‘मैले त जीवनमा यस्तो पहिलोपटक देखेको। बिनाकारण हाम्रो घरमा यति धेरै मान्छे हामीलाई मार्न आएजस्तो लाग्यो। म त बोल्न पनि नसक्ने र हिँड्न पनि नसक्ने जस्तो भएको थिएँ। बालबच्चा र आमाबुबालाई जोगाउनुपर्छ भनेर त्यसबेला मलाई आफैँ हिम्मत आएछ’, उनले घटनाको व्यथा सुनाए।
प्रहरी चौकी ध्वस्त भएको कारण उनीहरूले सबैभन्दा पहिले वडा कार्यालयमा खबर गरे। जाहेरी दिन महानगर प्रहरी परिसर, भद्रकाली जान भनिएपछि उनीहरू त्यहाँ पनि गए। तर जेन-जी आन्दोलनमा शहीद भएकाहरूको कागजी प्रक्रिया सबै त्यहीँ भइरहेको कारण उनीहरूलाई केही समयपछि आउनु भनियो।
‘पछि यति धेरै मानवीय क्षति भएको समाचार पढ्यौँ। भाग्यवश हाम्रो मानवीय क्षति भएन भनेर मात्र अलि राहत मिल्यो,’ उनले सुनाए, ‘तर अहिले पनि हामी सबै परिवारभित्र बसिरहेको समयमा गेट खोलेको आवाज आयो कि घरमा सबजना तर्सिन्छौँ।’
चोरी भएका केही सामानहरूको लोकेसन पनि उनले फेला पारिसकेका छन्। आफूसँग भएको भिडियो फुटेज र सामानको लोकेसन प्रहरीलाई दिने तयारीमा उनी छन्।
उनी भन्छन्, ‘हामीलाई क्षति पुर्याउनेहरूको प्रमाण पनि छ तर थ्रेट कम भएको जस्तो लाग्दैन। आन्दोलनको नाममा गलत सूचना र अवसरवादीहरूले गर्दा हामीजस्तो सर्वसाधारणलाई समेत यति नोक्सानी भयो। यसलाई राज्यले के-कसरी सम्बोधन गर्दैछ भन्ने समाचार पनि आएको छैन।’
‘हामी सार्वजनिक सहानुभूति लिन चाहन्नौँ। आन्दोलन राम्रोको लागि भएको हो। राम्रो भए त राम्रै हो। नत्र अब हरेक आन्दोलनमा हामी तर्सिन्छौँ। मेरा बच्चाहरूको बाल मस्तिष्कमा यसले नराम्रो असर गरेको छ’, उनले भने।
(घटनामा प्रहरीमा दर्ता गर्न बाँकी नै भएकाले सुरक्षाका लागि नाम नखुलाउन अनुरोध गरिएकाले परिवर्तित नाम राखिएको हो।)
असोज २, २०८२ बिहीबार १०:४८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।