कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

कटारी : कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपिडी) सेवा निःशुल्क दिने भएको छ।
कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिए।
‘ओपिडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन्, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ’, सूचनामा उल्लेख छ।
योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन्।
‘यसमा २० प्रतिशत जति बीमित पनि पर्छन्’, प्रमुख साहले भने।
नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा समितिले नगरपालिकाले सोधभर्ना गर्नेगरी सेवा निःशुल्क गरेको हो।
चालु आर्थिक वर्षदेखि कटारी अस्पताल केन्द्र सरकारको निर्णयमा प्रादेशिक अस्पताल बनेको हो। प्रादेशिक अस्पताल बन्नुअघि यो नगरकै जिम्मामा थियो।
प्रादेशिक तहमा स्तरोन्नति भएसँगै अब विभिन्न विशेषज्ञ उपचार सेवा समेत दिने तयारीमा अस्पताल रहेको छ। अस्पतालले बहिरङ्ग सेवाका लागि प्रतिबिरामी रु २० लिँदै आएको थियो।
असोज २, २०८२ बिहीबार १०:२०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।