वीरगञ्ज भन्सारद्वारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन, लक्ष्यको ९१ प्रतिशत प्रगति

वीरगञ्ज भन्सारद्वारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन, लक्ष्यको ९१ प्रतिशत प्रगति

वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो भन्सार विभागले तोकेको लक्ष्यको करिब ९१ प्रतिशत हो।

विभागले यस अवधिमा कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा ‘जेन-जी’ प्रदर्शन जस्ता विषम परिस्थितिका बाबजुद राजस्व सङ्कलन उत्साहजनक रहेको बताए।

कार्यालयले साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गरेको थियो भने भदौमा २० अर्ब १२ करोड रुपैयाँ सङ्कलन गर्दै मासिक लक्ष्यको ९३.९७ प्रतिशत प्रगति हासिल गरेको छ।

भदौ महिनामा प्रदर्शनका कारण राजस्व सङ्कलनमा केही दिन असर परेको थियो।

प्रदर्शनका दिन भदौ २४ गते ३ करोड, २६ गते ६ करोड र २७ गते ११ करोड रुपैयाँ मात्र राजस्व उठेको थियो। तर, यसको विपरीत भदौ १२ गते एकै दिन २ अर्ब ३७ करोड रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।

असोज २, २०८२ बिहीबार ०९:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।