रास्वपाको नाममा उद्योगी र कर्मचारीलाई धम्की, पार्टीले भन्यो: 'हाम्रो संलग्नता छैन, कारबाही होस्'

रास्वपाको नाममा उद्योगी र कर्मचारीलाई धम्की, पार्टीले भन्यो: 'हाम्रो संलग्नता छैन, कारबाही होस्'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टी र ‘जेन-जी आन्दोलन’को नाम दुरुपयोग गरी केही समूहले उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीहरूलाई धम्की दिइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘जेन-जी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै’ अवाञ्छित व्यक्तिहरूले रास्वपाको नाममा डर, त्रास र धम्कीपूर्ण टेलिफोन तथा मेसेज पठाउने गरेको जानकारी आएको उल्लेख छ।

‘विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

रास्वपाले यस्ता आपराधिक गतिविधिमा आफ्नो वा पार्टीका कुनै पनि सदस्यको संलग्नता नरहेको बताएको छ।

पार्टीले आफूलाई यस्ता गतिविधिबाट पूर्ण रूपमा अलग राख्दै यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन र आवश्यक छानबिन गरी कडा कारबाही गर्न गृह मन्त्रालय लगायत सम्बन्धित सुरक्षा निकायहरूको ध्यानाकर्षण गराएको छ।

पछिल्लो समय चर्चामा रहेको ‘जेन-जी आन्दोलन’ले सिर्जना गरेको परिस्थितिको फाइदा उठाउँदै केही आपराधिक मानसिकताका व्यक्तिहरूले राजनीतिक दलको नाम दुरुपयोग गर्न खोजेको पार्टीको आशङ्का छ।

रास्वपाले यस्ता भ्रमपूर्ण र गैरकानुनी गतिविधिप्रति सचेत रहन आम नागरिक तथा सम्बन्धित सबै पक्षलाई अपिलसमेत गरेको छ।

असोज २, २०८२ बिहीबार ०९:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।