नेपालविरुद्ध खेल्न वेस्ट इन्डिजको टोलीमा होल्डर र मेयर्स समावेश, प्रमुख खेलाडीलाई आराम

काठमाडौं : वेस्ट इन्डिजले नेपालविरुद्ध यूएईको शारजाहमा हुने तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
स्पिनर अकिल हुसेनको कप्तानीमा घोषित टोलीमा केही अनुभवी खेलाडीसँगै ६ जना नयाँ अनुहारलाई अवसर दिइएको छ।
वेस्ट इन्डिजले आफ्ना अधिकांश प्रमुख खेलाडीलाई आराम दिँदै घरेलु क्रिकेट र क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीलाई मौका दिएको छ।
टोलीमा पूर्वकप्तान जेसन होल्डर, आईपीएल स्टार कायल मेयर्स, तीव्र गतिका बलर ओबेद म्याककोय, अलराउण्डर फाबियन एलेन र ब्याटर केसी कार्टी जस्ता अनुभवी खेलाडीहरू समावेश छन्।
तर, नियमित कप्तान शाई होप, शिम्रन हेटमायर, रोभम्यान पावेल, अल्जारी जोसेफ, रोमारियो शेफर्ड जस्ता विश्वचर्चित टी-२० विशेषज्ञहरूलाई भने टोलीमा राखिएको छैन।
वेस्ट इन्डिज क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै २०२६ को टी-२० विश्वकपका लागि टोली निर्माण गर्ने उद्देश्यले र प्रमुख खेलाडीहरूको कार्यभार व्यवस्थापन गर्न यो निर्णय लिइएको स्पष्ट पारेको छ।
पूर्वकप्तान तथा विश्वभरका लिग खेलेका अनुभवी अलराउण्डर जेसन होल्डर टोलीका सबैभन्दा ठूला नाम हुन्।
आक्रामक ब्याटिङ र मध्यम गतिको बलिङका लागि परिचित कायल मेयर्सले आईपीएलमा लखनऊ सुपर जायन्ट्सबाट खेलिसकेका छन्।
सीमित ओभरको क्रिकेटमा वेस्ट इन्डिजका पहिलो रोजाइका स्पिनर अकिल हुसेनले टोलीको नेतृत्व गर्नेछन्।
गत वर्ष नेपाल भ्रमण गरेको वेस्ट इन्डिज ‘ए’ टोलीका सदस्य ओबेद म्याककोय आफ्नो गति र भेरिएसनका लागि चिनिन्छन्।
१८ वर्षीय जेवेल एन्ड्रयूलाई भविष्यको स्टार मानिएको छ। उनले पाकिस्तानविरुद्धको डेब्यू सिरिजमा आफ्नो क्षमता देखाइसकेका छन्।
गत वर्ष वेस्ट इन्डिज ‘ए’ टोलीले नेपालमा पाँच खेलको टी-२० सिरिज खेलेको थियो, जुन वेस्ट इन्डिजले ३-२ ले जितेको थियो। उक्त टोलीमा रहेका ओबेद म्याककोय, केसी कार्टी र फाबियन एलेनले यसपटक सिनियर टोलीमा स्थान बनाएका छन्।
नेपाल र वेस्ट इन्डिजबीचको यो ऐतिहासिक सिरिज सेप्टेम्बर २७, २९ र ३० मा शारजाह क्रिकेट स्टेडियममा हुनेछ।
असोज २, २०८२ बिहीबार ०८:५०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।