चाडपर्व छाडेर भारत पस्दै सुदूरपश्चिमेली, भन्छन्- ‘पैसा नभई के को दशैं?’

चाडपर्व छाडेर भारत पस्दै सुदूरपश्चिमेली, भन्छन्- ‘पैसा नभई के को दशैं?’

दोधारा चाँदनी : हिन्दुहरूको महान् पर्व दशैं घरआँगनमा भित्रिनै लाग्दा देशभर विदेशबाट घर फर्किनेको चहलपहल बढेको छ।

तर, सुदूरपश्चिमको सीमानाका गड्डाचौकीमा भने दृश्य ठीक उल्टो छ। यहाँ चाडपर्व मनाउन घर फर्किनेभन्दा परिवारको गुजारा चलाउन र दशैं खर्च जुटाउनकै लागि भारत पस्नेहरूको लर्को देखिन्छ।

विगतमा यतिबेला गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत गएकाहरू हजारौँको सङ्ख्यामा घर फर्किन्थे। तर यसपटक नाकामा फर्किनेभन्दा जानेको भीड बाक्लो छ।

स्वदेशमा रोजगारीको अभाव र बढ्दो महँगीले साँझ-बिहानको छाक टार्नै मुस्किल भएपछि उनीहरू दशैंजस्तो महान् पर्वसमेत छोडेर परदेशिन बाध्य भएका हुन्।

चाडपर्वको समयमा विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकहरू आफ्ना लालाबालासहित भारत गइरहेका छन्।

परिवारसहित भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका-२ का करन थापाले बाध्यता सुनाए, ‘साँझ-बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दशैं हुन्छ? पैसा कमाउन सके तिहार मनाउन फर्कौंला।’

छोराछोरीको विद्यालय बिदा भएकाले सपरिवार काम खोज्न हिँडेको उनले बताए।

करन एक्ला पात्र होइनन्। डोटीकै बाजिलेकबाट २५ जनाको समूह नै हिमाञ्चल प्रदेशको सिमलामा स्याउ टिप्ने कामको लागि भारत पसेको छ।

सोही समूहकी मीनादेवी थापाले भनिन्, ‘श्रीमान्सँगै मजदुरी गर्न सिमला जान लागेकी हुँ। स्याउ टिपेर कमाएको पैसाले तिहार मनाउन घर फर्किन्छौँ।’

समूहका अर्का सदस्य बलबहादुर थापाले पनि पैसा नभएकाले दशैं नमनाई विदेशिनु परेको पीडा पोखे।

‘यहाँ मजदुरीसमेत पाइँदैन, के गर्नु! एक महिना काम गरेर तिहार मनाउन गाउँ फर्किने योजना छ’, उनले भने।

कैलालीको बौनियाका कृष्ण सेरला जस्ता विद्यार्थी पनि विद्यालय बिदाको सदुपयोग गर्न भारत जाँदैछन्।

‘बुबाआमा भारतमै काम गर्नुहुन्छ, स्कुल बिदा भएपछि म पनि उतै जान लागेको’, उनले नाकामा भने।

गरिबी र बेरोजगारीका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नेपालीका लागि भारत रोजगारीको प्रमुख र बाध्यकारी गन्तव्य बन्दै आएको छ।

चाडपर्वको समयमा समेत घर छोडेर परदेशिनु पर्ने यो नियतिले स्वदेशमा रोजगारी सिर्जनाको कमजोर अवस्थालाई उजागर गरेको छ।

असोज २, २०८२ बिहीबार ०७:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।