शाहिनको अलराउण्ड प्रदर्शनमा युएईलाई हराउँदै पाकिस्तान सुपर फोरमा

एजेन्सी : तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पाकिस्तानले एसीसी टी-२० एसिया कपमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४१ रनले पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेको छ। समूह ‘ए’को निर्णायक खेलमा जित निकाल्दै पाकिस्तान प्रतियोगिताको अर्को चरणमा पुगेको हो।
जितका लागि १४७ रनको लक्ष्य पछ्याएको युएई १७.४ ओभरमा १०५ रनमा अलआउट भयो। युएईका लागि राहुल चोपराले ३५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनका अलावा एलिशान शराफूले १४, मोहम्मद वासिमले १२ र ध्रुब परेशारले २० रन जोडे।
पाकिस्तानको जितमा स्पिनर अबरार अहमदले ४ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट लिए। शाहिन अफ्रिदीले पनि ३ ओभरमा १६ रन दिँदै २ विकेट हात पारे। हरिस रौफले दुई तथा साम अयुब र सलमान अली अघाले एक-एक विकेट लिए।
त्यसअघि, दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। पाकिस्तानका लागि फखर जमानले ३६ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले।
एक समय संकटमा परेको पाकिस्तानका लागि तल्लो क्रममा शाहिन अफ्रिदीले विस्फोटक ब्याटिङ गरे। उनले केवल १४ बलमा ३ चौका र २ छक्कासहित अविजित २९ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए। उनले अन्तिम ओभरमा मोहम्मद रोहिदलाई दुई छक्का र एक चौकासहित १८ रन प्रहार गरेका थिए।
पाकिस्तानको सुरुवात भने खराब रह्यो। ओपनर साम अयुब लगातार तेस्रो खेलमा शून्यमा आउट हुँदा पाकिस्तानले २.४ ओभरमा ९ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो। त्यसपछि कप्तान सलमान अली अघा (२०) र जमानले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए।
युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। स्पिनर सिमरनजित सिंहले ३ तथा ध्रुब परेशारले १ विकेट लिए।
असोज २, २०८२ बिहीबार ०७:३६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।