आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सामान्यतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
मनसुनी वायु सक्रिय रहँदा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भू-भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
विशेषगरी, कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यस्तै, आज राति पनि देशभर मौसममा सामान्य बदली कायम रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थान आसपासमा छ। यसका साथै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको हो। यही मौसमी प्रणालीका कारण देशभर बदली र वर्षाको अवस्था सिर्जना भएको हो।
असोज २, २०८२ बिहीबार ०७:२३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।