‘ड्रिमल्याण्ड’ को खरानीमा गोपालको पसिनाको मूल्य

बुटवल : बुवा सर्वजीत राना भारतीय सेनामा थिए, तर उनले छोरा गोपाललाई कहिल्यै ‘लाहुरे’ बन्न दबाब दिएनन्। उनको मनमा एउटै इच्छा थियो- ‘छोरो नेपालमै बसोस्, यहीँको माटोमा पसिना बगाओस् र सफल होस्।’ बुवाको यही सपनालाई आफ्नो आँखामा सजाएर गोपालले बुटवलकै गल्लीहरूमा आफ्नो भविष्य खोज्न थाले।
बुटवलको कालिका माविबाट एसएलसी र लुम्बिनी वाणिज्य क्याम्पसबाट स्नातक गरेका गोपालको मनमा सानैदेखि व्यवसायी बन्ने हुटहुटी थियो। अध्ययनकै क्रममा २०४८ सालतिर उनी सिंगापुर पनि पुगे, तर विदेशी भूमिले उनलाई तान्न सकेन। दुई महिनामै नेपाल फर्किए।
त्यसपछि उनले ‘फिनिडा’ नामक परियोजनामा काम सुरु गरे, जसले ग्रामीण क्षेत्रमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्थ्यो। लाहुरेको छोरो भएर होला, उनले दुःख खासै देखेका थिएनन्।
तर, त्यो परियोजनाले उनलाई गाउँको यथार्थसँग साक्षात्कार गरायो। उनले दुःखसँग जुधिरहेका मानिसहरूको संघर्ष देखे, स-साना कुरामा खुसी भेट्टाउने कला सिके र समाजलाई नजिकबाट बुझ्ने मौका पाए। तर, उनको भित्री मन व्यवसायी बन्नकै लागि तड्पिरहेको थियो। दुई वर्षपछि उनले त्यो जागिर छोडे।
२०५० साल। देश माओवादी द्वन्द्वको भुमरीमा फस्दै थियो। तर, गोपालले त्यही अँध्यारो समयमा आफ्नो सपनाको दियो बाल्ने आँट गरे। बुवाबाट २५ हजार रुपैयाँ लिएर उनले निर्माण व्यवसायमा हात हाले।
द्वन्द्वको कठिन परिस्थितिका बाबजुद उनको व्यवसाय राम्रैसँग चल्यो। तर, बालुवा र सिमेन्टको कारोबारले उनको सृजनशील मनलाई बाँध्न सकेन। उनलाई पर्यटनमा भविष्य देखे। मानिसहरूलाई सुन्दर अनुभव र अविस्मरणीय पलहरू बेच्ने सपना उनको मनमा थियो।
उनले रुपन्देही आसपासका पर्यटकीय गन्तव्यहरूलाई जोडेर एउटा स्तरीय होटल खोल्ने योजना बनाए। होटलको खोजीमा भौँतारिँदै गर्दा उनले तिलोत्तमामा एउटा चल्न नसकेर बन्दप्रायः अवस्थामा रहेको होटल भेटे।
यो २०६६ सालको कुरा हो। गोपालले त्यही रुग्ण होटललाई पुनर्जीवन दिने अठोट गरे। उनले त्यसको भौतिक स्वरूप मात्र फेरेनन्, एउटा नयाँ र आकर्षक नाम पनि दिए- ‘ड्रिमल्याण्ड’। हो, उनको सपनाको संसार, जहाँ आउने हरेकले सुन्दर सपना देख्न सकुन्।
त्यसपछिका १६ वर्ष उनको जीवनको सबैभन्दा ऊर्जाशील समय थियो। उनको अथक मिहिनेत, लगानी र समर्पणले त्यो सानो होटललाई ‘ड्रिमल्याण्ड गोल्ड रिसोर्ट’ हुँदै ‘ड्रिमल्याण्ड इन्टरनेसनल’ सम्मको उचाइमा पुर्यायो।
साढे चार बिघा क्षेत्रफलमा फैलिएको क्यासिनोसहितको यो रिसोर्ट रुपन्देहीको पर्यटनको मुटु बनेको थियो। उनको पसिनाको मूल्यले मूर्त रूप लिँदै थियो।
तर, विडम्बना! जेन-जी आन्दोलनको नाममा उठेको आक्रोशको आगोले उनको १६ वर्षे लामो तपस्या र सपनालाई केही घण्टामै खरानीको थुप्रोमा परिणत गरिदियो।
आज गोपाल राना त्यही कालो खरानीमा आफ्नो पसिनाको मूल्य खोजिरहेका छन्। उनको १ अर्ब रुपैयाँभन्दा बढी लगानीको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। क्यासिनो खरानी बनेको छ, महंगा फर्निचर र सजावटका सामानहरू लुटिएका छन्।
‘रिसोर्टको ८० प्रतिशतभन्दा बढी भाग जलेको छ’, उनी भत्किएको स्वरमा भन्छन्।
आगोको त्यो लप्काले उनको एउटा मात्र सपना जलाएन। डेढ वर्षअघि मात्रै ५० करोडको लगानीमा बुटवलमा सञ्चालनमा ल्याएको बुटवलकै पहिलो बुटिक होटल ‘ड्रिम इन्टरनेसनल’ मा पनि तोडफोड र आगजनी भयो।
यी दुई होटलको विनाशले गोपालको अर्बौंको लगानी मात्र डुबाएन, त्यहाँ कार्यरत ३०० जना कर्मचारीको रोजगारी पनि खोसेको छ। उनीहरूका परिवारको आशाको दियो पनि निभाएको छ।
‘यो कुनै आकस्मिक घटना होइन, यो सुनियोजित आक्रमण हो,’ गोपाल दृढताका साथ भन्छन्, ‘जसले मेरो सपना र सयौँको रोजीरोटीमा आगो लगाए, उनीहरूको पहिचान गरेर कडाभन्दा कडा कारबाही हुनुपर्छ।’
एक लाहुरेको छोरो, जसले विदेशी सुखसयल त्यागेर आफ्नै देशमा सपनाको महल बनायो, आज त्यही महलको भग्नावशेषमा उभिएर न्याय मागिरहेको छ। खरानीको थुप्रोबाट उनी फेरि उठ्ने साहस त बटुलिरहेका छन्, तर उनको मनमा लागेको घाउ र राज्यप्रतिको अविश्वास सायद कहिल्यै पुरिने छैन।
असोज २, २०८२ बिहीबार ०७:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।