
जेनजी आन्दोलनले दशैँमा सरेको ‘अभिमन्यु’लाई क्युएफएक्सले शो दिएन

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनको प्रभावले फिल्म हलको शो अस्तव्यस्त बनेको छ। गत भदौ २७ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म जेन–जी आन्दोलनले रोकियो। योसँगै आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘जारी२’लाई समेत असर गर्यो।
भदौ २७ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘अभिमन्यु’ले आफ्नो फिल्म असोज १३ गते अर्थात् दसैँको फूलपातीबाट ल्याउने घोषणा गर्यो।
फूलपातीमा यसअघि नै फिल्म ‘माइतीघर’,‘बलिदान’र ‘हरिबहादुरको जुत्ता’ले प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्।
भदौ २७ गते रोकिएको फिल्म ‘अभिमन्यु’लाई यही मितिमा रिलिज भए देशकै ठुलो क्यूएफएक्सले शो दिन मानेको छैन। आफ्नो फिल्मलाई क्युएफएक्सले शो उपलब्ध गराउन नसक्ने भनेपछि निर्माता विनोद पौडेल तनावमा छन्।
उनले भने,‘एक दिनमा ८–१० वटा फिल्म हलमा शो पाउने। तर हाम्रो पालामा नपाउने भन्ने हुन्छ र? यो त सरासर हामी माथि अन्याय भयो।’
के कारणले हो त भन्ने उकेराको प्रश्नमा उनले भने,‘यस बारेमा त हामीलाई केही पनि भनिएको छैन। तर शो दिने कुरामा क्युएफएक्सले आनाकानी गरेको चाही हो। कारण त थाहा भएन।’
उनले फेसबुकमा फूलपातीमा ३ वटा ठुला फिल्म छ, तपाईँको चलचित्रलाई शो दिन सकिँदैन, अर्कै डेटमा लगाउनुस् भनेको लेखेका छन्।
"तिहारमा के हुने हो? हाम्रो टिमलाई हेपेर हैरान भएको छ। सबै सिनेमा घर होइन। धेरैजसोले यस्तै गरिरहेको छ। फिल्म ठुला वा साना चलेपछि मात्रै थाहा हुन्छ" उनले लेखेका छन्।
विनोद पौडेलले यसअघि निर्माण गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले देशभरका हलबाट सर्वाधिक ४८ करोड भन्दा माथि ग्रस कलेक्सन गरेको थियो। जुन फिल्मको कमाइबाट हलवालाले मनग्ये कमाए। तर अहिले यो फिल्मलाई भने हलवालाले बेवास्ता गर्न खोजेका छन्।
यस फिल्मको वितरण अधिकार डिजिटल सिनेमा नेपाल (डीएसएन)ले लिएको छ।
डीएसएनकी हेना अधिकारीले क्यूएफएक्स हलमा शो नपाएको स्वीकार गरिन्।
उनले भनिन्,‘आफूहरूले क्यूएफएक्ससँग शोको माग गरिरहेको तर किन हो उहाँहरूले शो दिन मान्नु भएको छैन।’
यसअघि डिसिएन र क्यूएफएक्स चेनका साझेदारका रूपमा समेत काम गर्दै आएका थिए। क्यूएफएक्समा सञ्चालक नकिम उद्दिनले यसबारेमा बोल्न चाहेनन्। फिल्म ‘अभिमन्यु’ले शो नपाएको भन्ने चर्चा छ।
खासमा के भएको हो भन्ने प्रश्नमा उनले अस्ति नै शो पाएको भनेर झर्किए। प्रदर्शनमा आएको छैन,फूलपातीमा आउने रिलिज डेट घोषणा गरेको थियो नि भन्ने प्रश्नमा उनले आफूलाई भन्दा पनि अरूलाई सोध्न आग्रह गरे।
असोज २, २०८२ बिहीबार ००:१०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।