
कोटेश्वर भाटभटेनीमा भेटिएको शव रामेछापका विकासको

काठमाडौँ : कोटेश्वरमा रहेको भाटभटेनीको चौथो तलामा बुधवार फेला परेको शव २२ वर्षीय विकास रसाइलीको भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उक्त शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने रसाइलीको भएको पुष्टि भएको जानकारी दिए।
सफा गर्नेक्रममा बुधवार बिहान साढे ९ बजे जलेको अवस्थामा शवको अस्थिपञ्जर फेला परेको थियो। उनले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज (टिचिङ) मा पठाइएको जानकारी दिए।
जेनजी आन्दोलनकोक्रममा भाटभटेनीका अधिकांश स्टोरहरूमा आगो लगाइएको थियो। यस अगाडि चुच्चेपाटीमा रहेको भाटभटेनीको भवनमा समेत शव फेला परेको थियो। भाटभटेनीले आगलागीमा आफ्नो कर्मचारी नपरेको जानकारी दिएकाले भेटिएका शवहरू भाटभटेनी लुटपाटकाक्रममा मारिएकाहरू हुनसक्ने आशङ्का गरिएको छ।
२०८१ चैत १५ को आन्दोलनकोक्रममा पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड भए पनि आगो भने लगाइएको थिएन। तर भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनकोक्रममा भने भाटभटेनीको अधिकांश स्टोरहरुमा लुटपाटसँगै आगो लगाइयो।
चैत १५ को लुटपाटमा संलग्नहरुमाथि प्रहरीले पक्राउ गरेर मुद्दा प्रक्रिया अगाडि बढाएको थियो। यो मुद्दाका अधिकांश धरौटीमा छुटेका थिए।
असोज १, २०८२ बुधबार २२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।