
सुदूरपश्चिममा मनाइयो बुढी पोल्ने पर्व

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुधवार बूढी पोल्ने पर्व मनाइयो। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पूतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।
किंवदन्तीअनुसार भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पूतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले पूतनाको शव दहन गरेका थिए।
द्वापरयुगमा विषाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पूतनालाई भगवान् श्री कृष्णले दूध चुसी मारेको र भगवान् श्री कृष्ण भने बाँचेको खुसीयालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइने भट्टको भनाइ छ।
भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा बुधवार साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ।
ओल्के सङ्क्रान्तिका दिन गोठालाहरूले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन्। यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिन्छ।
साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ ‘बूढी पोल्ने’ परम्परा छ। पूतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई बुधवार बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ।
दोबाटोमा जलाएको पूतना राक्षसीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ। यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार– ३ श्रीकोटका गणेश विष्टले बताए।
-रासस
असोज १, २०८२ बुधबार २२:३३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।