जेन-जी आन्दोलनमा दिनेशको सहादत, झापाको विपन्न परिवारमा बज्रपात

जेन-जी आन्दोलनमा दिनेशको सहादत, झापाको विपन्न परिवारमा बज्रपात

झापा : ‘बुबा कहिले आउनुहुन्छ?’

पाँच वर्षीय रिदम र एक वर्षीया दिपीका अझै पनि आफ्ना बुबा दिनेश राजवंशी घर फर्किने बाटो कुरिरहेका छन्। तर, उनीहरूलाई के थाहा, बुबा अब कहिल्यै फर्केर आउने छैनन्।

झापाको अर्जुनधारा नगरपालिका-८, हात्तीकिल्लाका ३२ वर्षीय दिनेशको गत भदौ २४ गते विर्तामोडमा भएको जेन-जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर निधन भयो।

घाइते अवस्थामा स्थानीय बिएण्डसी अस्पतालमा उपचारका क्रममा भदौ २७ गते उनले संसार छाडे। उनको सहादतले सिंगो परिवारको आशा र भरोसाको दियो नै निभेको छ।

पौरखी र मिलनसार स्वभावका दिनेश दुई वर्ष कतार बसेर फर्किएका थिए। स्वदेशमै केही गर्ने सोचले उनले सानो मासु पसल सुरु गरेका थिए। तर, देशको अवस्थाले उनलाई फेरि विदेशिने तयारीमा पुर्याएको थियो।

‘देशभित्र रोजगारी नपाएपछि उहाँ रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो,’ राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले भने, ‘साना नानीहरू र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने?’

तीन वर्षअघि बुबा गुमाएका दिनेशको काँधमा ५५ वर्षीया आमा सपना, ३० वर्षीया पत्नी जान्ती र दुई नाबालक छोराछोरीको जिम्मेवारी थियो।

उनको निधनपछि यो विपन्न परिवारको विचल्ली भएको छ। दाजु र भाउजुसहितको संयुक्त परिवार बस्दै आएको सानो कच्ची घरमा अहिले शोकको बादल मडारिएको छ।

‘घरमा साना छोराछोरी छन्, वृद्ध सासूआमा हुनुहुन्छ। कमाएर ल्याउने मान्छे नै नरहेपछि अब कसरी बाँच्नु?’ आँखाभरि आँसु पार्दै पत्नी जान्तीले भनिन्।

उनी आफैँ पनि दैनिक ज्यालादारी गरेर घर खर्चमा सघाउँथिन्। तर, अब एक्लो कमाइले परिवारको गर्जो टार्न असम्भव छ।

दिनेश परिवारका आशाका केन्द्र थिए। एसएलसीसम्म पढेका उनले आफ्ना छोराछोरीलाई भने जसरी पनि उच्च शिक्षा दिने सपना देखेका थिए।

‘उहाँ सधैँ भन्नुहुन्थ्यो, मैले आर्थिक अवस्थाले पढ्न सकिनँ, तर आधा पेट खाएरै भए पनि छोराछोरीलाई धेरै पढाउँछु,’ जान्तीले बिलौना गरिन्, ‘उहाँको त्यो सपना अब अधुरै रह्यो।’

भाइको निधनको खबर सुनेर विदेशबाट फर्किएका दाजु गोवर्द्धन राजवंशी अहिले काजकिरियामा बसेका छन्।

‘मेरो भाइले देश परिवर्तनका लागि जीवन दियो,’ उनले भने, ‘अब उसका छोराछोरीको शिक्षादीक्षा र परिवारको पालनपोषणको जिम्मा राज्यले लिनुपर्छ।’

दिनेशको सहादतले देशमा परिवर्तनको बहस त ल्यायो, तर उनको परिवारको भविष्य भने अन्धकारमा धकेलिएको छ।

नाबालक छोराछोरीको तोते बोली र पत्नीको आँसुले राज्यसँग एउटै प्रश्न गरिरहेको छ- अब हाम्रो सहारा को?

असोज १, २०८२ बुधबार १४:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।