
‘दुई वर्षीय छोरो च्यापेर धानबारीमा लुकेर ज्यान जोगाएँ’

चितवन : जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा चितवनका अधिकांश स्थानीय तह र जनप्रतिनिधिहरू निशानामा परे।
भदौ २३ र २४ गते भएको प्रदर्शनमा आक्रोशित भीडले स्थानीय तहका भौतिक संरचनामा तोडफोड र आगजनी गर्नुका साथै जनप्रतिनिधिहरूमाथि अमानवीय आक्रमणको प्रयास समेत गर्यो।
यसै सन्दर्भमा, चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आक्रमणकारी भीडबाट जोगिन आफूले भोगेको त्यो कहालीलाग्दो क्षण र ज्यान जोगाउन पदबाट राजीनामा दिनुपरेको बाध्यता सुनाएका छन्।
परिस्थिति सहज बन्दै गएपछि उनी अहिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र नगरवासीको सेवामा फर्कने अठोटका साथ सक्रिय भएका छन्।
धानबारीमा लुकेर बचेको त्यो क्षण
नगर प्रमुख रेग्मीले त्यो भयावह घटना सम्झँदै भने, ‘श्रीमती र छोरीलाई घर छोडेर भाग भनेर म दुई वर्षीय छोरो च्यापेर घरपछाडिको धानबारीमा लुकेर बाँच्न सफल भएँ। हामी भागेको केहीबेरमै एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोड गर्न आए। उनीहरूले सक्नेजति तोडफोड गरेर फर्किए।’
दूधे बालकलाई लिएर धानबारीमा लामो समय बस्न नसक्ने भएपछि उनले छोरालाई छिमेकीको घरमा छोडेर आफू फेरि धानबारीमै लुकेको बताए। आक्रमणकारीहरू पुनः फर्किएर घरमा थप क्षति पुर्याए।
‘केही साथीहरूले मेरो घर जोगाउने प्रयास पनि गरे,’ उनले थपे, ‘तर भीडले छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भन्नेजस्ता धम्की दिएको सुनियो। भीड निकै अराजक र उद्दण्ड थियो। प्रहरी, सेना, सिडिओ, पार्टी कतै पनि सम्पर्क हुन सकेन। आकाशै खसेको जस्तो भयो।’
ज्यान जोगाउन पार्टी परित्यागको घोषणा
घटना सुरु हुनुअघि नै वडा कार्यालयहरूमा आक्रमण गर्ने र जनप्रतिनिधिलाई मार्ने-काट्ने धम्कीपूर्ण सन्देशहरू आइरहेको उनले बताए। सल्लाहका लागि कसैसँग सम्पर्क हुन नसकेपछि उनी विलखबन्दमा परे।
भावुक हुँदै उनले भने, ‘हातमा खुँडा, खुकुरी, भाला बोकेर ठूलो समूहले त्रासको वातावरण बनायो। बाढी नै आएजस्तो भयो। घरबाट के जोगाउने, कहाँ जाने, कसले आश्रय देला भन्ने भयो। ज्यानको खतरा भएकाले बाहिर नहिँड्न सुझाव आयो।’
कतैबाट कुनै सहारा नपाएपछि आफूले बाध्य भएर पार्टी परित्यागको घोषणा गरेको उनले स्पष्ट पारे।
‘दुई घण्टाभित्र निर्णय गरिनस् भने तेरो घर र तँलाई दुवैलाई जलाउँछौँ भनेर धम्की आयो,’ उनले भने, ‘घर र परिवार जोगाउनका लागि पार्टी छोडेको स्टाटस लेखेर हुन्छ भने किन नलेख्ने भनेर फेसबुकमा लेखेँ। त्यो बेला परिवार बच्छ भने म जे गर्न पनि तयार थिएँ। अहिले त्यो स्टाटस हटाएको छु, म पार्टीमै छु।’
उनले थपे, ‘त्यो पीडादायी अवस्था मैले भोगेको छु, जुन व्यक्त गर्न पनि सक्दिनँ। इष्टमित्रले पनि बास दिने अवस्था थिएन। एमालेलाई खोजी-खोजी काट्ने हल्ला फैलाइएको थियो।’
नगरपालिकामा ८० करोड बराबरको क्षति
आक्रमणकारीले उनको घरमा तोडफोड गर्दा करिब ६ लाख ५० हजार बराबरको क्षति भएको छ। कालिका नगरपालिकाको वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भएका छन् भने वडा नं ८ र ९ मा तोडफोड भएको छ।
नगरसभा हल पूर्ण रूपमा जलेको छ भने भाडामा रहेको कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ। निर्माणाधीन नयाँ भवनमा तोडफोड भएको छ भने अगाडि रहेका तीनवटा सवारीसाधन र दुईवटा मोटरसाइकल जलाइएका छन्। डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबीमा पनि क्षति पुगेको छ।
नगरपालिका अस्तव्यस्त बनेको छ। यकिन तथ्याङ्क नआए पनि करिब ८० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रमुख रेग्मीले बताए।
जिल्लाकै उत्कृष्ट काम गरेको भनिएको नगरपालिकामा यति ठूलो क्षति हुँदा पनि उनी निराश छैनन्।
उनी भन्छन्, ‘म मोटरसाइकलमै सबै वडा पुगेर नगरवासीको सेवामा जुट्नेछु। यो घटनाबाट पाठ सिक्दै नगरवासीको सहयोगमा पुनर्निर्माण अभियानमा लाग्नेछु।’
असोज १, २०८२ बुधबार १४:०१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।