
‘रुटिन अफ नेपाल’ले कतिमा किन्यो नेपाल-वेस्ट इन्डिजको कमर्सियल अधिकार?

काठमाडौं : लोकप्रिय सामाजिक सञ्जाल पेज ‘रुटिन अफ नेपाल बन्द’ सञ्चालन गर्ने कम्पनी रुटिन अफ नेपाल प्रालिले नेपाल र वेस्ट इन्डिजबीच यूएईको सारजाहमा हुने तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको व्यावसायिक तथा प्रसारण अधिकार खरिद गर्यो।
कम्पनीले उक्त अधिकार १ करोड ८५ लाख रुपैयाँमा खरिद गर्यो। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले यसको पुष्टि गरे।
यो सम्झौतासँगै सिरिजको प्रत्यक्ष प्रसारण ‘रुटिन अफ नेपाल बन्द’को आधिकारिक युट्युब च्यानलबाट हुनेछ, जसको घोषणा कम्पनीले गरिसक्यो। कम्पनीले व्यावसायिक अधिकार अन्तर्गत प्रायोजन बिक्रीको पनि जिम्मा पाइसक्यो।
यद्यपि, यो सम्झौतामा टिकट बिक्रीको अधिकार भने समावेश छैन। क्यानले टिकट बिक्रीको अधिकार आफैँसँग सुरक्षित राखेको छ। यूएईमा रहेका नेपाली क्रिकेट समर्थकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गर्दै क्यानले टिकट बिक्रीबाट करोडौँ रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।
नेपालले पहिलो पटक वेस्ट इन्डिजजस्तो शीर्ष टेस्ट राष्ट्रसँग टी-२० सिरिज खेल्न लागेको हो, जसले गर्दा यो श्रृंखलालाई ऐतिहासिक मानिएको छ। सामाजिक सञ्जालमा आधारित प्लेटफर्मले राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेलको प्रसारण अधिकार खरिद गर्नुलाई नेपाली खेलकुद बजारमा एक नयाँ आयामका रूपमा हेरिएको छ।
असोज १, २०८२ बुधबार १३:०५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।