शासकहरूको दम्भले जेन-जी विद्रोह निम्त्यायो : माधव नेपाल

शासकहरूको दम्भले जेन-जी विद्रोह निम्त्यायो : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीहरूको दम्भ र अहंकारका कारण देशले हालको संकट बेहोर्नुपरेको बताएका छन्।

जेन-जी आन्दोलनका जायज मागलाई समयमै सम्बोधन नगर्दा दर्जनौँ युवाले ज्यान गुमाउनुपरेको र मुलुकले अपूरणीय क्षति भोगेको उनको भनाइ छ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले आन्दोलन शुरू हुनुअघि नै मागहरूप्रति समर्थन र ऐक्यबद्धता जनाएको स्मरण गराएका छन्।

उनले यो आन्दोलनलाई गणतन्त्र स्थापनापछि पनि जनताको भावनाअनुसार पारदर्शी र जनउत्तरदायी शासन दिन नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणामका रूपमा स्वीकार गर्नुपर्ने बताए।

नेता र जनताको जीवनशैलीबीचको दूरी, भ्रष्टाचार, कुशासन, बेरोजगारी र युवा पलायनजस्ता समस्याले यो अवस्था सिर्जना गरेको उनको विश्लेषण छ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको छ र निर्वाचनको मिति समेत घोषणा भएको छ।’

विगतका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन र रोजगारी सिर्जना गर्न सके मात्र आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति साँचो श्रद्धाञ्जली हुने उनको भनाइ छ।

अध्यक्ष नेपालले युवा पुस्ता, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै अंगसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

असोज १, २०८२ बुधबार १२:२९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।