
बागमतीका सभामुख पाठकले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
जेन-जी आन्दोलनका क्रममा भएको दमनपछि पदमा रहिरहनु अनुचित ठानेको भन्दै उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत लिखित राजीनामा पत्र बुझाएका हुन्।
पाठकले यसअघि भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए। तर, कानुनी प्रक्रिया पूरा गर्न केही दिन लागेको हो।
आफ्नो राजीनामा पत्रमा उनले जेन-जी आन्दोलनमा भएको बल प्रयोग र नागरिकको मृत्युले आफूलाई भावविह्वल बनाएको उल्लेख गरेका छन्।
‘गत भदौ २३ गते जेन-जीको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेपछि म अत्यन्त भावविह्वल भएँ,’ पत्रमा लेखिएको छ, ‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्मामा लाग्यो र भदौ २४ गते नै राजीनामा गर्ने घोषणा गरेँ।’
उनले प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न ढिलाइ भएको स्वीकार्दै नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा दिएको स्पष्ट पारेका छन्।
राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयलाई समेत दिइएको छ।
असोज १, २०८२ बुधबार १२:२४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।